महोत्तरी। रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले ३१ लाखभन्दा बढी रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारको प्रयासमा ऐक्यबद्धता जनाउँदै रु. ३१ लाख ३५ हजार १३४ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।



नगरपालिकाका अनुसार उक्त सहयोग रकम विभिन्न स्रोतबाट जुटाइएकोछ । नगरपालिकाको वार्षिक बजेटबाट रु. १० लाख, नगरपालिकाका जनप्रतिनिधिबाट रु. ७ लाख ११ हजार ५००, नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीबाट रु. ६ लाख ८ हजार ६४८ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु. ५ लाख १७ हजार ९४० सहयोग गर्ने व्यवस्था गरिएको छ ।
जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवा सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय गरेका छन् । त्यसैगरी कर्मचारीतर्फ अधिकृत स्तरका कर्मचारीबाट सात दिनको तलब, सहायक स्तरका कर्मचारीबाट पाँच दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब योगदान गरिने नगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा विद्यालय सहयोगी र कर्मचारीबाट दुई दिन बराबरको तलब सहयोग गरिने जनाइएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नगरपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिक समाजलाई समेत सहयोग र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी विपद्पीडितका लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।





