धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन भएको छ। आयोजकका अनुसार मधेश प्रदेशमै एउटै रक्तदान कार्यक्रममा संकलन भएको यो अहिलेसम्मकै उच्च परिमाण हो।
ढल्केवरमा यसअघि २११ पिन्ट रगत संकलन गरी राखिएको आफ्नै रेकर्डलाई यसपटकको रक्तदान कार्यक्रमले तोडेको हो। यससँगै ढल्केवरमा आयोजित रक्तदान कार्यक्रमले आफ्नै पुरानो रेकर्ड भंग गर्दै नयाँ रेकर्ड कायम गरेको आयोजकले जनाएको छ।
रसुवालगायतका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारका क्रममा अस्पतालहरूमा रगतको आवश्यकता बढेको र रगत अभाव देखिएपछि त्यसलाई मध्यनजर गर्दै वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रक्तदान कार्यक्रममा स्थानीयवासी, व्यवसायी, युवा, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानमार्फत संकटमा रहेका बिरामीको जीवन बचाउन सहयोग पुग्ने बताएका थिए।
कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गरिएको थियो।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेश प्रदेश उद्योग परिसंघ, मिथिला युवा सञ्जाल, शुभकामना सहकारी संस्था बडहरी र नमुना सहकारी संस्था ढल्केवरलगायत संघसंस्थाको सहकार्य रहेको थियो। नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फोर नेपालको प्राविधिक सहयोग रहेको थियो।








