महोत्तरी। मधेश प्रदेशमा सर्पदंशका घटना बढ्दै गए पनि उपचारका लागि अत्यावश्यक एन्टिस्नेक भेनम (एएसभी) को पर्याप्त मौज्दात नहुँदा प्रमुख अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा उपचार प्रभावित हुने जोखिम बढेको छ। प्रदेशका विभिन्न अस्पतालमा एएसभीको मौज्दात न्यून भएपछि बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था सिर्जना भएको छ।
प्रादेशिक अस्पताल जलेश्वर र बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा पनि एएसभीको मौज्दात पर्याप्त छैन। जलेश्वर अस्पतालमा १४० भायल र बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा ८५ भायल मात्र मौज्दात रहेको जनाइएको छ।



प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. रवि श्रीवास्तवका अनुसार विषालु सर्पले टोकेका बिरामीको उपचारमा सामान्यतया १० देखि १५ भायलसम्म एएसभी आवश्यक पर्न सक्छ। मौज्दात तत्कालै सकिने अवस्था नभए पनि सर्पदंशका बिरामीको संख्या बढ्दै गए उपचारमा समस्या आउन सक्ने उहाँले बताउनुभयो।
साउन महिनामा मात्र प्रादेशिक अस्पताल जलेश्वरमा ३३ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए। तीमध्ये चार जनालाई विषालु सर्पले टोकेको पुष्टि भएको थियो। उनीहरूको उपचारमा ४९ भायल एएसभी प्रयोग भएको अस्पतालले जनाएको छ।
बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको छ। एक महिनामा ८४ जना बिरामी उपचारका लागि भर्ना भएकामा विषालु सर्पले टोकेका नौ जनाको उपचारमा २४५ भायल एएसभी प्रयोग भएको जनाइएको छ।
वीरगञ्जस्थित नारायणी अस्पताल र प्रादेशिक अस्पताल जनकपुरमा समेत एएसभीको मौज्दात घटेपछि उपचार प्रभावित हुने अवस्था देखिएको थियो। नारायणी अस्पतालमा केही दिनअघि एएसभीको मौज्दात सकिएपछि अस्पताल प्रशासनले औषधि उपलब्ध नभएको भन्दै उपचारमा समस्या भएको सूचना जारी गरेको थियो।
नारायणी अस्पतालमा दैनिक औसत सातदेखि १५ जनासम्म सर्पदंशका बिरामी आउने गरेका छन्। पर्सा, बारा, रौतहट, सर्लाहीलगायत जिल्लाबाट बिरामी आउने भएकाले यहाँ एएसभीको नियमित मौज्दात आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।
यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको निर्देशनमा पर्साको ठोरी, बाराको निजगढ र कौल्हवी तथा सर्लाहीको नवलपुरलगायतका उपचार केन्द्रबाट एएसभी ल्याएर नारायणी अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो।
प्रादेशिक अस्पताल जनकपुरमा पनि एएसभीको मौज्दात न्यून रहेको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका इन्चार्ज उज्ज्वल झाका अनुसार अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म सर्पदंशका बिरामी आउने गरेका छन्। पुरानो स्टकका रूपमा करिब १०० भायल मात्र एएसभी रहेकाले गम्भीर अवस्थामा रहेका करिब पाँच जना बिरामीलाई मात्र पुग्ने अवस्था रहेको उहाँले बताउनुभयो।
जनकपुर अस्पतालमा सिरहा, सप्तरी, महोत्तरीलगायत जिल्लाबाट मात्र नभई सीमावर्ती भारतीय क्षेत्रबाट समेत सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीको चापअनुसार एएसभीको नियमित आपूर्ति हुन नसक्दा जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ।
रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा पनि एएसभीको मौज्दात न्यून रहेको अस्पताल प्रमुख डा। अभिषेक ठाकुरले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा हाल ३० भायल मात्र एएसभी छ। गौर अस्पतालमा दैनिक औसत चारदेखि पाँच जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
गर्मी र वर्षायाममा सर्प बाहिर निस्कने क्रम बढ्ने भएकाले यस समयमा सर्पदंशका घटना पनि बढ्ने चिकित्सकहरू बताउँछन्। खेतबारीमा काम गर्ने तथा ग्रामीण क्षेत्रमा घरवरपर बसोबास गर्ने नागरिक सर्पदंशको बढी जोखिममा पर्ने गरेका छन्।
यसैबीच, सर्पदंशका घटना बढ्न थालेपछि मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले प्रदेशभरका सर्पदंश उपचार केन्द्रमा एएसभी पठाउन थालेको जनाएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशमा सर्पदंशको उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता र मागका आधारमा एएसभी पठाउन थालिएको छ। सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा ३० भायल र वीरगञ्जस्थित नारायणी अस्पतालमा १०० भायल एएसभी पठाइएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल करिब ९०० भायल एएसभी मौज्दात छ। थप औषधि ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ।
“सर्पदंशविरुद्धको औषधि कुनै पनि उपचार केन्द्रमा अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ,” डा. यादवले भन्नुभयो।
स्वास्थ्य आपूर्ति केन्द्रले मागका आधारमा अन्य उपचार केन्द्रमा समेत एएसभी पठाउन थालेको जनाएको छ। यद्यपि अस्पतालहरूले भने बिरामीको चापअनुसार पर्याप्त मौज्दात राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार केही दिनयता सर्पदंशका बिरामीको संख्या बढेको छ। ग्रामीण क्षेत्रमा खेतबारी र घरवरपर सर्प देखिने क्रम बढेकाले जोखिम थपिएको उहाँले बताउनुभयो।
स्वास्थ्यकर्मीका अनुसार सर्पले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ। झारफुक वा घरेलु उपचारमा समय बिताउँदा विष शरीरमा फैलिन गई बिरामीको अवस्था गम्भीर बन्न सक्छ।
चिकित्सकहरूले राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरका झाडी सफा राख्न तथा खेतबारीमा काम गर्दा बुटलगायत सुरक्षात्मक सामग्री प्रयोग गर्न सुझाव दिएका छन्। सर्पले टोकेमा सकेसम्म छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउन उनीहरूले आग्रह गरेका छन्।
वर्षायाम र गर्मीमा सर्पदंशका घटना बढ्ने पूर्वानुमान हुँदाहुँदै औषधिको मौज्दात न्यून हुने अवस्था दोहोरिनुले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनमा सुधारको आवश्यकता देखिएको छ। चिकित्सकहरूले सर्पदंश उपचार हुने सबै स्वास्थ्य संस्थामा न्यूनतम मौज्दात कायम हुने गरी एएसभीको नियमित र भरपर्दो आपूर्ति व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन्।




