महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरबाट नौ वर्षीया स्कुले बालिका बेपत्ता भएकी छन्।किसाननगरस्थित मामाघरमा बस्दै आएकी आनन्दी ठाकुर बिहीबार बिहान विद्यालय जाने तयारीमा रहेकै बेला घरबाट सम्पर्कविहीन भएकी हुन्। उनी किसाननगरस्थित जनएकता आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन्।
विद्यालय जाने समय भइसक्दा पनि आनन्दी विद्यालय नपुगेपछि परिवार र विद्यालयले उनको खोजी सुरु गरेका थिए। विद्यालयका शिक्षक सन्तोष महतोका अनुसार बालिका विद्यालय नआएपछि उनको खोजी कार्य थालिएको हो।



बालिका बेपत्ता भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दिबासले खोजी कार्य तीव्र पारेको छ। प्रहरी उपरीक्षक गुरुप्रसाद तिमल्सिनाले बालिकाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो।
परिवारले बालिकाको अवस्था पत्ता लगाई सकुशल घर फर्काउन सहयोग गरिदिन सबैसँग अपिल गरेको छ।




