जलेश्वर,महोत्तरी – नेपाल–भारत मैत्री युवा संघ महोत्तरीको आयोजनामा बिहीबार सम्पन्न जलेश्वर नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री माध्यमिक विद्यालय पर्सा प्रथम हुँदै विजेता बनेको छ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न नौ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता तीन चरणमा सञ्चालन गरिएको संघका जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेशकुमार साह ‘आलोक’ले जानकारी दिनुभयो।




नकआउट चरण पार गर्दै फाइनलमा पुगेका तीन विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय पर्सापतैली र श्री माध्यमिक विद्यालय बखरीभाठबीच प्रतिस्पर्धा भएको थियो।अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै श्री माध्यमिक विद्यालय पर्साले प्रथम स्थान हासिल गरेको हो। लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय दोस्रो तथा श्री माध्यमिक विद्यालय बखरीभाठ तेस्रो भएका छन्।

प्रतियोगिताको प्रमुख अतिथिका रूपमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवसहाय मीना तथा विशिष्ट अतिथिका रूपमा नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय महासचिव कृष्णकुमार सिंह सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघ महोत्तरीका अध्यक्ष जितेन्द्रकुमार सिंह, कार्यक्रम संयोजक तथा उपाध्यक्ष गणेशकुमार साह ‘आलोक’, जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष वरुणकुमार दाहाल तथा युवा र शिक्षक उमेश चौधरीलगायतको उपस्थिति थियो।




