जनकपुरधाम- जनकपुर-जयनगर रेल सेवा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सव अगावै संचालन गर्न माग गरिएको छ।
पछिल्लो दुई वर्ष देखि विवाहपञ्चमीको अवसरमा रेल संचालन हुने बताइए पनि हाल सम्म पनि रेलसंचालन हुन सकेको छैन । त्यसैले यस पटक परेको २२ मंसीरमा परेको विवाह पञ्चमी महोत्सव अगावै रेल संचालनको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले माग गरेको छ ।
लोसपाका नेताहरुले रेल संचालनको माग गर्दै आज बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
उक्त ज्ञापनपत्रमा बोधार्थ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय , रेल विभागलाई समेत जनाइएको छ।
जनकपुरधाममा प्रत्येक बर्ष आयोजना हुने ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व रामजानकी विवाहोत्सव भारत लगायत विश्व कै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकहरुका लागि महत्वपूणर् अवलोकन गर्ने बेला भएकोले रेल्वे सञ्चालन नहुँदा सबै ओझेलमा परेको लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले बताए ।
लालले भने,‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तिर्थालुहरुको यात्रामा अहम भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूणर् योगदान दिने निश्चित छ । तर सबै कुरो तयारी अवस्थामा रहे रेल संचालन नहुनु दुःखद पक्ष हो । रेल संचालन नहुँदा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भईरहेको छ ।’
लोसपाकी नेतृ विभा ठाकुरले सबै पूर्वाधार निर्माण लगायत खरिद गरिएको रेल संचालन गर्न जानाजान अटेर भईरहेको र इन्जन, बोगी, ट्रयाकहरु समेत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको बताइन ।
लोसपाका नेता उमेश मण्डलले रेल्वे सञ्चालन भएपछि नेपाल भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोड्ने साधनको रुपमा उपयोग हुने बताए ।
सरकारले जानाजान रेल्वे सञ्चालनमा अटेर गरे आफूहरुले दबाबमूलक आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने समेत लोसपा नेताहरुले चेतावनी दिएका छन् ।