बिनिता याादव
सिरहा । स्थानीय तहको योजना, बजेट तथा सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहभागिता बढाउँदै पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको नवराजपुर गाउँपालिकामा सामाजिक जवाफदेहिताका औजार तथा यसको महत्वसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।



नवराजपुर गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा स्थानीय तहको योजना तथा बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमा नागरिकको अर्थपूर्ण सहभागिताका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सार्वजनिक निकायलाई नागरिकप्रति थप जवाफदेही बनाउन प्रयोग हुने विभिन्न सामाजिक जवाफदेहिताका औजारबारे सहभागीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा विशेषगरी महिला, सीमान्तकृत तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायलाई स्थानीय शासन प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्नेमा जोड दिइएको थियो । स्थानीय तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रम नागरिकको वास्तविक आवश्यकता र प्राथमिकतामा आधारित भए/नभएको विषयमा नागरिकले जानकारी लिन, प्रश्न गर्न र सुझाव दिन पाउने वातावरण आवश्यक रहेको सहभागीले बताएका थिए ।

युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घको सहयोगमा सञ्चालित ‘सशक्त महिला र समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत प्रो पब्लिक, Youth for Good Governance Promoting (YGGP) र NEEDS Nepalको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रो पब्लिकका टिम लिडर पोष्टबहादुर केसीले सामाजिक जवाफदेहिताको अवधारणा, आवश्यकता र स्थानीय तहमा यसको प्रयोगका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले स्थानीय सरकारका योजना, बजेट तथा कार्यक्रम नागरिकको आवश्यकता र प्राथमिकताअनुसार सञ्चालन भए/नभएको विषयमा नागरिकले जानकारी लिन तथा सम्बन्धित निकायसँग प्रश्न गर्न सक्ने बताउनुभयो ।
सामाजिक जवाफदेहिताका औजारको प्रभावकारी प्रयोगले सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रमको अनुगमनमा नागरिकको भूमिका बढ्ने उल्लेख गर्दै केसीले नागरिक र स्थानीय सरकारबीच नियमित संवाद आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नागरिक अनुगमन तथा सरोकारवालाबीचको संवादलगायतका औजारबारे जानकारी दिइएको थियो । यस्ता औजारलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके स्थानीय तहका कामकारबाहीमा पारदर्शिता बढ्नुका साथै सार्वजनिक स्रोतको उचित उपयोग र सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने बताइएको थियो ।
स्थानीय तहका योजना आवश्यकता पहिचानदेखि कार्यान्वयन र मूल्याङ्कनसम्म नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । नागरिकको प्रत्यक्ष सहभागितामा तयार गरिएका योजना स्थानीय आवश्यकता सम्बोधन गर्न बढी प्रभावकारी र परिणाममुखी हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा मधेश प्रदेश संयोजक अजय साहले सामाजिक जवाफदेहिता लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले नागरिकलाई सार्वजनिक निकायका कामकारबाहीबारे जानकारी प्राप्त गर्ने र आवश्यक परेमा सम्बन्धित निकायसँग जवाफ माग्ने अधिकार रहेको उल्लेख गर्दै सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड दिनुभयो ।
साहले सामाजिक जवाफदेहिताका अभ्यासलाई कुनै निश्चित कार्यक्रम वा अभिमुखीकरणमा मात्र सीमित नराखी स्थानीय तहका नियमित गतिविधिमा लागू गर्नुपर्ने बताउनुभयो । नागरिकले आफ्नो अधिकार र जिम्मेवारीबारे जानकारी राख्दै स्थानीय सरकारका काममा रचनात्मक सहभागिता जनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागीले सार्वजनिक सेवा प्रवाहका समस्या, विकास निर्माणको गुणस्तर, बजेटको उपयोग तथा योजनाको प्रभावकारिताबारे नागरिकलाई नियमित जानकारी गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका थिए । उनीहरूले सामाजिक जवाफदेहिताका औजारलाई स्थानीय तहका नियमित योजना तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नवराजपुर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, महिला, सामाजिक रूपमा पछाडि पारिएका समुदायका प्रतिनिधि, नागरिक समाज र विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
सामाजिक जवाफदेहिताका औजारको नियमित र प्रभावकारी प्रयोगबाट स्थानीय तहमा पारदर्शिता, नागरिक सहभागिता र जवाफदेहिता बढ्नुका साथै विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहप्रति नागरिकको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ । विशेषगरी महिला तथा सीमान्तकृत समुदायलाई निर्णय प्रक्रियामा आफ्नो आवाज उठाउन र सार्वजनिक निकायसँग प्रभावकारी रूपमा संवाद तथा जवाफदेहिता खोज्न सक्षम बनाउन कार्यक्रमले योगदान पुग्ने आयोजकको विश्वास छ ।




