काठमाडौं : नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्यलाई निर्देशनसमेत दिएको छ।



महासंघले अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, बिहीबारदेखि रातिको समयमा यात्रा नगर्न पनि अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै सरोकारवालालाई मौसम र सडकको अवस्था हेरेर मात्रै यात्रा तथा यातायात सञ्चालन गर्न आग्रह गरिसकेको थियो। सोही अनुरूप महासंघले यातायात व्यवसायीलाई सचेत गराएको हो।
यस साता लगातार वर्षा हुने र त्यसका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।





