सर्लाही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे प्रक्रिया अघि बढ्दै गर्दा सर्लाहीमा चुनावी सरगर्मी बढेको छ। यसैक्रममा सर्लाही क्षेत्र नं. १ बाट पेशागत विज्ञ समूहका तर्फबाट ध्रुवप्रसाद रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य तथा प्रदेश संसदीय बोर्ड सदस्यसमेत रहेका रिजाल लालबन्दी नगरपालिका–५ रञ्जितपुरका स्थायी बासिन्दा हुन्।
उद्योग, व्यवस्थापन, सार्वजनिक प्रशासन तथा पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय रिजालको उम्मेदवारीलाई क्षेत्रीय प्रतिनिधिहरूमाझ चासोका साथ हेरिएको छ।
रिजालले नगर विकास कोषको अध्यक्षका रूपमा सहरी विकास तथा पूर्वाधार व्यवस्थापनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यसमेत भइसकेका उनी राज्यका विभिन्न निकाय तथा औद्योगिक संस्थानको व्यवस्थापनमा अनुभव हासिल गरेका व्यक्ति हुन्।
उनले बुटवल धागो कारखाना र हेटौँडा सिमेन्ट उद्योगजस्ता प्रमुख औद्योगिक संस्थानमा महाप्रबन्धक तथा अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। निजी क्षेत्रको आर्थिक नीति निर्माण तथा प्रवर्द्धनमा समेत सक्रिय रिजाल नेपाल उद्योग परिसङ्घ (सीएनआई) को राष्ट्रिय परिषद् सदस्यका रूपमा कार्यरत छन्।
पार्टीभित्र पेशागत तथा व्यवस्थापकीय अनुभव भएका व्यक्तिको सहभागिता आवश्यक रहेको बताउँदै रिजालले पेशागत विज्ञ समूहबाट उम्मेदवारी दिएका हुन्। उनका अनुसार राज्यका विभिन्न निकाय र औद्योगिक संस्थानमा काम गरेको अनुभवलाई पार्टी संगठन तथा नीतिनिर्माणमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी अघि बढाइएको हो।
“म कसैको भाग खोस्न आएको होइन। कांग्रेस सर्लाही क्षेत्र नं. १ का साथीहरूसँग आफ्नो अनुभव साझा गर्दै संगठनलाई सहयोग गर्न र क्षेत्र तथा केन्द्रीय नेतृत्वमा योगदान गर्न आएको हुँ,” रिजालले भने।
उनले मतदानमार्फत आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा जाने अवसर प्राप्त भए पार्टीलाई थप बलियो बनाउन अनुभव र क्षमताको उपयोग गर्ने बताए। “ महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी पाए पार्टीको संगठन सुदृढीकरण, नीतिगत बहस र नेतृत्वलाई आवश्यक सहयोग गर्ने भूमिकामा केन्द्रित हुनेछु,” उनले भने।
सर्लाही क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका लागि विभिन्न समूहबाट उम्मेदवारीहरू अघि बढिरहेका बेला पेशागत विज्ञ समूहबाट रिजाल अघि सरेका हुन । औद्योगिक व्यवस्थापन, सार्वजनिक निकायको नेतृत्व तथा निजी क्षेत्रसँगको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।








