जनकपुरधाम- धार्मिक सद्भाव समन्वय समिति धनुषाको आज बसेको वैठकले वडादशैं, दिपावली र छठ पर्वलाई शान्तिपूर्ण रुपमा सामाजिक सद्भाव बढाउने गरि मनाउने निर्णय गरेको छ ।समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलको अध्यक्षतामा भएको वैठकले सामाजिक सद्भाव विगार्न खोज्ने माथि प्रचलित कानून बमोजिम कडा कार्यवाही गरिने निर्णय पनि गरेको हो ।
यसका साथै चाडपर्व, मेला धार्मिक र्यालीहरुमा चर्को आवाजमा ध्यनी प्रदुषण गर्ने डिजे बाजाको प्रयोग नगर्नका लागि सवैमा समितिको वैठकले आह्वाहन गरेको छ । सद्भाव वैंठकले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सम्पूर्ण धर्म, समुदाय, नागरिक समाज, बुद्धिजीवि, राजनीतिक दल, संघ संस्था, स्थानीय तहका जनप्रतिनिधि र सञ्चारकर्मी लगायत सवैमा अपिल गरेको छ ।



जिल्लामा नागरिकहरुका बीचमा आपसी सद्भाव, भाईचारा, र धार्मिक सहिष्णुता कायम गर्ने र गराउने कार्यमा सवैले आ–आफ्नो क्षेत्रवाट आवश्यक समन्वय तथा सहकार्य गर्ने प्रतिवद्धता पनि प्रकट गर्नु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुईटेलले जानकारी दिनु भयो ।
यसका सथै शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नका लागि चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना २०८३ कार्यान्वयन गर्नका लागि बैठकमा सहभागिहरुले समर्थन पनि गरेको छ ।
वैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न धर्मका धर्म गुरुहरु, विभिन्न राजनीतिक दलका पदाधिकारीहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, कार्यालयका प्रमुखहरुको सहभागिता रहेका थिए ।
विभिन्न धार्मिक पर्वहरुमा केही पक्षले विगतका वर्षहरुमा सदियौं देखि स्थापित भएको सामाजिक सद्भाव विगार्ने किसिमको क्रियाकलाप गर्ने गरेको पाईएकाले यस वर्ष समयमा नै धार्मिक सद्भाव समन्वय समितिको वैठक भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिनु भयो ।




