महोत्तरी – मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको मृत्यु भएको घटनासँग सम्बन्धित मुद्दा अब सर्वोच्च अदालतको प्रक्रियामा पुगेको छ। यही क्रममा महोत्तरीका चार जना प्रतिवादी सर्वोच्च अदालतमा स्वयं उपस्थित भएका छन्।महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख रामशंकर मिश्र ‘साही’, सुरेश पाण्डे र धर्मेन्द्र राय सर्वोच्च अदालतमा उपस्थित भएका हुन्। उनीहरू स्वयं अदालतमा उपस्थित भई आफ्नो मुद्दाको कानुनी प्रक्रिया अघि बढाएका हुन्।
चारै जना उपस्थित भएपछि सर्वोच्च अदालतले उनीहरूलाई सधारण तारिखमा राख्ने आदेश दिएको छ। यससँगै वर्षौंदेखि विभिन्न तहका अदालतमा चलिरहेको थमन विक प्रकरणको कानुनी यात्रा सर्वोच्च अदालतसम्म पुगेको छ।

थमन विक प्रकरण मधेस आन्दोलनसँग जोडिएको अत्यन्त संवेदनशील घटना हो। २०७२ भदौ २५ गते महोत्तरीमा आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको घटनालाई लिएर लामो समयदेखि मुद्दा चलिरहेको छ।
यस प्रकरणमा महोत्तरी जिल्ला अदालतले अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालत महोत्तरीले पुर्बाग्राही हिसाबले गलत फैसला गरेको भन्दै मधेस प्रदेश जिल्लाहरुमा फैसलालाई लिएर बिरोध समेत भएको थियो । त्यसपछि मुद्दा उच्च अदालत जनकपुर पुगेको थियो। उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्टाउँदै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेसहित ६ जनालाई जनही पाँच वर्ष कैद हुने फैसला गरेको थियो भने तीन जनाको जन्मकैद कायम राखेको थियो।




उच्च अदालतको फैसलामा प्रत्यक्ष रूपमा थमन विकमाथि प्रहार गरेको वस्तुनिष्ठ प्रमाण केही फेला नपरेको उल्लेख छ । प्रतिवादीको हकमा नदेखिएको भए पनि अनुसन्धानका क्रममा प्राप्त बयानलगायत प्रमाणका आधारमा उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा दोषी ५ बर्ष कैदको फैसला उच्चले गरेको थियो ।
अभिराम शर्मा, रामशंकर मिश्र ‘साही’, सुरेश पाण्डे र धर्मेन्द्र राय पक्षले भने सुरुदेखि नै आफूहरूलाई मधेस आन्दोलनसँग जोडेर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन्।

उनीहरू निकट नेताहरू तथा समर्थकहरूको दाबीमा मधेस आन्दोलनको राजनीतिक नेतृत्वमा सक्रिय रहेका व्यक्तिहरूलाई आन्दोलनका क्रममा भएका घटनासँग जोडेर आपराधिक मुद्दा लगाइएको हो। उनीहरूका अनुसार राजनीतिक आन्दोलनको नेतृत्व गर्नु र आपराधिक घटनामा प्रत्यक्ष संलग्न हुनु एउटै विषय होइन।
यही आधारमा उनीहरूले आफूहरूमाथि लगाइएको आरोप न्यायिक परीक्षणबाट स्पष्ट हुने बताउँदै आएका छन्।
अभिराम शर्मा मधेस राजनीतिमा लामो समयदेखि सक्रिय नेताका रूपमा परिचित छन्। उनी महोत्तरी क्षेत्र नम्बर ३ ( क) बाट दुई पटक निर्वाचित भइसकेका छन् भने मधेस प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
स्थानीय राजनीतिमा उनको राजनीतिक प्रभाव र जनसम्बन्धबारे समर्थकहरूले लामो समयदेखि चर्चा गर्दै आएका छन्।

त्यस्तै, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख रामशंकर मिश्र ‘साही’ पनि स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय व्यक्तिका रूपमा चिनिन्छन्। उनले समेत आफू मधेस आन्दोलनको नेतृत्व गरेको कारण जनतासँग जोडिएर काम गर्दै आएको र राजनीतिक कारणले आफूलाई निशाना बनाइएको दाबी गर्दै आएको छ। मधेस आन्दोलनको बेला लाखौ जनता आफ्नो अधिकार मांग्दै सडकमा उत्रेका थिए । आन्दोलनका क्रममा सुरक्षाकर्मीको मृत्यु भएको घटनामा आफूहरूलाई झुठा मुद्दामा फसाइएको दाबी उनिहरुले गर्दै आएका छन्।सर्वोच्च अदालतको कानुनी प्रक्रिया आफ्नो ठाउँमा अघि बढिरहने बताउँदै अभिराम शर्मा र रामशंकर मिश्र ‘साही’ले आफूहरू अब फेरि जनताको सेवामा सक्रिय रहने बताएका छन्। उनीहरूले कानुनी लडाइँसँगै जनताका सुख–दुःखमा साथ दिने र गरिब, विपन्न तथा समस्यामा परेका नागरिकका पक्षमा निरन्तर काम गर्ने बताएका छन्।





