काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सर्लाहीका सोनेलाल साहले केन्द्रीय सदस्य (मधेस प्रदेश तर्फको खुला) तर्फ उम्मेदवारी दर्ता गराएका छन्।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ निवासी साहले मंगलवार काठमाडौंस्थित राष्ट्रिय सभागृह पुगेर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
सर्लाही निर्वाचन क्षेत्र नं। १ बाट उनी चौथोपटक महाधिवेशन प्रतिनिधि बनेका हुन्। यसपटक भने उनले पहिलोपटक पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
साह २०३५ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। लामो राजनीतिक अनुभवलाई पार्टीको संगठन निर्माण र नयाँ पुस्तासँग कांग्रेसलाई जोड्ने अभियानमा उपयोग गर्ने उद्देश्यले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको साहले बताएका छन्।
उनले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले नयाँ पुस्ताको भावना, अपेक्षा र सवाललाई सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। आफ्नो विचार, दृष्टिकोण र राजनीतिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा प्रस्तुत गर्न उम्मेदवारी दिएको उनको भनाइ छ।



साहको उम्मेदवारीसँगै सर्लाहीबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि थप दाबी प्रस्तुत भएको छ। १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि विभिन्न नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।





