महोत्तरी – दशैं,तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । चाडपर्वका समयमा हुन सक्ने अवैध गतिविधि, चोरी–पैठारी, सवारी दुर्घटना तथा भीडभाडबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै एकीकृत विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चाडपर्व लक्षित एकीकृत विशेष सुरक्षा योजना सार्वजनिक गर्दै तत्काल कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।उहाँका अनुसार योजनाअन्तर्गत नेपाल प्रहरीका ७४७ र सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका ५८४ गरी एक हजार ३३१ जना सुरक्षाकर्मी जिल्लाका विभिन्न स्थानमा परिचालन गरिएको छ ।



चाडपर्वका समयमा नेपाल–भारत सीमाबाट हुने अवैध आवतजावत तथा चोरी–पैठारी नियन्त्रणलाई सुरक्षा योजनामा प्राथमिकता दिइएको छ । सीमा क्षेत्रमा २४ घण्टा पिकेट, चेकपोइन्ट तथा संयुक्त गस्ती सञ्चालन गरिएको प्रजिअ यादवले बताउनुभयो । गैरकानुनी आवतजावत, अवैध पटाका तथा प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
पूर्व–पश्चिम लोकमार्ग तथा जिल्लाका भित्री सडकमा आकस्मिक चेकिङ र मोबाइल गस्तीसमेत सञ्चालन गरिएको प्रशासनले जनाएको छ । बजार क्षेत्रमा सर्वसाधारणको चाप र आर्थिक कारोबार बढ्ने भएकाले बजार, बैंक तथा वित्तीय संस्थामा पैदल गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
संवेदनशील क्षेत्रमा राष्ट्रिय अनुसन्धान विभागमार्फत सूचना सङ्कलन भइरहेको तथा आवश्यकताअनुसार नेपाली सेनासँग समेत समन्वय गरी रणनीतिक प्रतिष्ठानको सुरक्षा र स्कर्टिङलगायतका कार्यमा परिचालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
चाडपर्वका समयमा घर फर्किने तथा बाहिर जाने यात्रुको सङ्ख्या बढ्ने भएकाले मुख्य बसपार्क र सीमानाकामा सहायता कक्ष तथा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । यात्राका क्रममा समस्या परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने र आकस्मिक स्वास्थ्य समस्या तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रजिअ यादवले बताउनुभयो ।
दुर्गापूजा,मेला तथा मूर्ति विसर्जनका कार्यक्रमलाई व्यवस्थित बनाउन पूर्वस्वीकृत रुट तथा समयतालिका अनिवार्य रूपमा पालना गर्न प्रशासनले सम्बन्धित आयोजक तथा समितिलाई आग्रह गरेको छ । भीडभाडका कारण सडक अवरुद्ध हुने र सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले निर्धारित मापदण्ड पालना गर्न आग्रह गरिएको हो ।
सम्भावित आगलागी,सडक दुर्घटना,डुबान तथा अन्य विपद्का घटनालाई ध्यानमा राख्दै स्थानीय तहका दमकल, एम्बुलेन्स तथा विपद् उद्धार टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । आकस्मिक घटना भएमा सुरक्षा निकाय, स्थानीय तह र उद्धार संयन्त्रबीच तत्काल समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रशासनका अनुसार सुरक्षा योजनाको मुख्य उद्देश्य चाडपर्वका समयमा नागरिकको जीउधनको सुरक्षा, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा यात्रु ठगी नियन्त्रण गर्नु रहेको छ । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वयसमेत गरिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले चाडपर्वका नाममा गैरकानुनी गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
उहाँले अवैध पटाका, भुइँचम्पा तथा आतिशबाजीजन्य विस्फोटक पदार्थको प्रयोग तथा बिक्री–वितरण नगर्न, सडकमा डोरी टाँगेर जबर्जस्ती चन्दा नउठाउन, जुवातास नखेल्न तथा मदिरा सेवन गरी सार्वजनिक शान्ति भङ्ग नगर्न आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालमार्फत साम्प्रदायिक विद्वेष फैलाउने, उत्तेजना सिर्जना गर्ने वा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने भएकाले चालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने कार्य नियन्त्रणका लागि सडकमा चेकिङ र निगरानी बढाइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सुरक्षा निकायसँगै नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो । जिल्लामा कुनै शङ्कास्पद गतिविधि, वस्तु वा व्यक्ति देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
प्रशासनले आपत्कालीन सेवाका लागि प्रहरी कन्ट्रोल १००, विपद् सहायता १२३४, एम्बुलेन्स १०२ र दमकल १०१ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जिल्ला सुरक्षा समितिले चाडपर्वका अवसरमा नागरिकले निर्भीक र सुरक्षित रूपमा पर्व मनाउन सक्ने वातावरण निर्माणका लागि सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ ।
सुरक्षा योजना प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी, बजार व्यवस्थापन समिति, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजक र सर्वसाधारणबीच निरन्तर समन्वय आवश्यक रहेको प्रशासनले जनाएको छ ।





