सुजाता राई
मोरङ । सुन्दरहरैँचा, मोरङकी कमला पराजुलीद्वारा लिखित ‘ॐ शान्ति’ कवितासङ्ग्रहको आइतबार विराटचोकमा लोकार्पण गरिएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटचोकमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।



कवि तथा आख्यानकार छवि वैरागी घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलालगायतका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले कृतिको समीक्षा प्रस्तुत गरेका थिए । लेखक तथा अनुसन्धातासमेत रहेको विरहीले कृतिमाथिको सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्दै ‘ॐ शान्ति’ कवितासङ्ग्रहलाई ज्ञानको पञ्ज भएको बताए । ‘शान्ति खोज्न काहीँ जानु पर्दैन, शान्ति आफैँभित्र छ, त्यसलाई खोज्न मात्र जान्नु पर्छ’ भन्ने सन्देश कृतिले दिएको विचार व्यक्त गरे । साथै विरहीले कृति शब्द र भावको पुञ्ज मात्र नभएर यो व्यक्ति तथा समाजको एउटा इतिहास पनि भएकाले आगामी पुस्ताले यसलाई अध्ययनको सामग्रीसमेत बनाउन सक्ने हुँदा यस्ता कृति प्रकाशन गर्दा भाषिक संरचना तथा वर्णविन्यासमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले कविता विशिष्ट साधनाबाट निस्कने कोमल सिर्जना भएको बताए । कविले जेमा पनि कविता भेट्न सक्नु साधना भएको उल्लेख गर्दै उनले ब्रह्माकुमारी राजयोगको आध्यात्मिक अभ्यास र निरन्तर साधनाबाट ‘ॐ शान्ति’ कवितासङ्ग्रह जन्मिएको धारणा राखे ।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेले सिर्जनाभित्रको सौन्दर्यशास्त्रका बारेमा उल्लेख गर्दै यस कवितासङ्ग्रहले शान्ति कहाँ पाइन्छ भन्ने प्रश्नको खोजी गरेको बताए । महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका प्रमुखसमेत रहेका उनले आगामी संस्करणमा भाषा तथा वर्ण विन्यासको ध्यान दिन सुझाव दिए । बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले वर्तमान समयमा मानिसभित्र बढ्दै गएको अशान्ति र द्वन्द्व न्यूनीकरण गर्न आध्यात्मिक चिन्तन आवश्यक रहेको बताए ।
कृतिकार पराजुलीले आफ्ना अनुभव, आध्यात्मिक चिन्तन र अनुभूतिलाई प्रस्तुत गर्दै जाँदा कृति तयार भएको बताइन् । केही वर्षअघि नै कविता लेख्न सुरु गरेको बताउँदै कृतिकार पराजुलीले भौतिकभन्दा आध्यात्मिक चिन्तनबाट बढी ऊर्जा र शक्ति प्राप्त गर्ने बताइन् । ध्यान केन्द्रमा तथा विभिन्न कार्यक्रममा कविता सुनाउँदा श्रोताले मन पराएपछि ती रचनालाई सङ्कलन गरेर पुस्तक प्रकाशन गरेको उनको भनाइ रहेको छ । २०१२ साल साउन १ गते साब्ला, तेह्रथुममा पिता केवलप्रसाद सुवेदी तथा मायादेवीका सन्तान कमला सुवेदी पराजुलीको हालको बसोबास सुन्दरहरैँचा –१२, मोरङमा रहेको छ ।

कोसी साहित्य–कला परिषद् नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा ब्रह्मकुमारी कविता पोखरेलले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।
ब्रह्मकुमारी राजयोग केन्द्र विराटचोक, मोरङकी प्रशिक्षक ब्रह्मकुमारी कविता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।





