महोत्तरी– महोत्तरीको मटिहानीमा रावणवध गरी विजया दशमी पर्व मनाइएको छ। बडादसैँको दसौँ दिन आज साँझ मटिहानी नगरपालिकास्थित लक्ष्मीसागर पोखरीको किनारमा निर्माण गरिएको रावणको विशाल प्रतिमामा बाण प्रहार गरी प्रतीकात्मक रूपमा रावणवध गरिएको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी तथा प्रशासनका प्रतिनिधिहरूको उपस्थितिमा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बाण प्रहार गरी रावणवध कार्यक्रमको सुरुआत गर्नुभएको थियो।




रावणवधको दृश्य अवलोकन गर्न स्थानीयवासी तथा दर्शकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा उपस्थित दर्शकहरूले भगवान् श्रीरामको जयजयकार गर्दै विजया दशमी पर्व मनाएका थिए।
हिन्दू धार्मिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको घटनाको स्मरणमा विजया दशमीका अवसरमा रावणवध कार्यक्रम आयोजना गर्ने परम्परा छ। यसले असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको सन्देश दिने विश्वास गरिन्छ।





