महोत्तरी – छठ पर्व नजिकिएसँगै महोत्तरीका उखु किसानलाई सख्खर बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ। छठमा चढाइने प्रसाद तथा विभिन्न मिष्ठान्न परिकार बनाउन सख्खरको प्रयोग हुने भएकाले बजारमा यसको माग र मूल्य दुवै बढेको हो।
मधेसमा दसैँ सकिएसँगै तिहार र छठको चहलपहल बढेको छ। छठ पर्वमा सख्खरबाट खीर, ठेकुवा, भुसुवालगायतका परिकार बनाइने भएकाले यसको माग उच्च हुने गरेको छ। स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा उत्पादन गरिने सख्खरको लोकप्रियता पनि बढ्दै गएको स्थानीय उत्पादकहरू बताउँछन्।




गौशाला नगरपालिका–४, सुर्तिविकास चोकका सख्खर उत्पादक सुरेन्द्र साहका अनुसार छठका बेला घरघरमा सख्खर आवश्यक पर्ने भएकाले वर्षकै सबैभन्दा बढी माग र मूल्य यही समयमा हुने गर्छ। पछिल्ला वर्षमा किसान चिनी मिलको विकल्पका रूपमा सख्खर उत्पादनतर्फ आकर्षित हुँदै गएका छन्।

गौशाला नगरपालिका–११, कालिपुरका किसान रामकिशोर महतो र गौशाला–४ का देवनारायण साहले चिनी मिलबाट समयमै उखु काट्ने पुर्जी र भुक्तानी नपाइने समस्याका कारण उखु पेलेर सख्खर बनाउन थालेको बताउनुभयो। उखु काटेर सख्खर बनाउँदा बिक्रीबाट तत्काल नगद आम्दानी हुने र त्यसपछि खेतमा अर्को बाली लगाउनसमेत सहज हुने उहाँहरूको भनाइ छ।
हाल महोत्तरीको गौशाला, बर्दिबास, भङ्गाहा, औरही र सोनमा लगायतका क्षेत्रमा उखु पेल्ने उपकरण सञ्चालनमा छन्। गौशाला क्षेत्रमा मात्रै करिब आधा दर्जन सख्खर उत्पादन उद्योग सञ्चालनमा रहेका छन्। छठअघि नै उत्पादन बजारमा पुर्याउन सके राम्रो मूल्य पाइने भएकाले किसानले उत्पादन बढाएका छन्।

सख्खर बनाउने कारीगर मोहम्मद जुमराति अन्सारीका अनुसार एक क्विन्टल सख्खर उत्पादन गर्न करिब आठदेखि १० क्विन्टल उखु आवश्यक पर्छ। पूर्ण रूपमा छिप्पिएको उखुबाट नौ क्विन्टलमा एक क्विन्टल सख्खर बन्ने भए पनि हाल उखु केही कलिलो रहेकाले १० क्विन्टलसम्म उखु लागिरहेको उहाँले बताउनुभयो।
सख्खर उत्पादनमा संलग्न श्यामकिशोर महराका अनुसार सामान्य अवस्थामा प्रतिकिलो करिब ८० रुपैयाँमा बिक्री हुने सख्खर छठका बेला गुणस्तरअनुसार प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

किसानका अनुसार खेतबाट उखु काटेर ल्याएपछि कोल्हु वा क्रसर मेसिनमा पेलेर रस निकालिन्छ। निकालिएको रसलाई प्राकृतिक पदार्थको प्रयोग गरी सफा गरिसकेपछि ठूला फलामका कराहीमा राखेर बाक्लो नहुन्जेल उमालिन्छ। बाक्लो भएको रसलाई चिस्याएर जम्ने अवस्थामा पुर्याएपछि विभिन्न आकारका ठोस सख्खर तयार गरी बजारमा बिक्रीका लागि पठाइन्छ।








