जनकपुर – धनुषाको नगराइन नगरपालिका–७, देवडिहाका दस दिनदेखि बेपत्ता सात वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।
स्थानीय अजय झाका छोरा साकेत झाको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको हो।धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार बालकको शव केहीबेरअघि धानखेतमा फेला परेको हो।



गत कात्तिक ४ गते दसैँको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि बेपत्ता भएका थिए। बालक बेपत्ता भएपछि परिवारजन र स्थानीयवासी चिन्तित बनेका थिए। परिवार तथा प्रहरीले निरन्तर खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
प्रहरीले नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको थियो। लामो खोजीपछि बालकको शव फेला परेको हो।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी खनालले जानकारी दिनुभयो। बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनुषाबाट ६ वर्षीय बालक दुई दिनदेखि बेपत्ता




