महोत्तरी – तिहार तथा छठ पर्व नजिकिएसँगै महोत्तरीको औरही बजारमा बाँस र माटाबाट बनेका परम्परागत सामग्रीको माग बढेको छ। मैथिल समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका यस्ता सामग्रीको प्रयोग पर्वका बेला बढी हुने भएकाले बजारमा खरिदबिक्री बढेको हो। तर, व्यापारिक चहलपहल बढे पनि व्यवस्थित बिक्रीस्थल, पार्किङ र सरसफाइको अभावमा व्यापारी तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
तिहार र छठ पर्वमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि बाँसबाट बनेका छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खालगायत सामग्रीको प्रयोग हुन्छ। त्यस्तै, माटाबाट बनेका दियो, पाला र घैँटोलगायत सामग्रीको पनि माग बढ्ने गरेको छ। पर्व नजिकिएसँगै औरही नगरपालिका–१ स्थित औरही बजारमा यस्ता सामग्री बिक्री गर्ने व्यापारी र खरिदकर्ताको चहलपहल बढेको छ।




माटाका सामग्री बिक्री गर्दै आउनुभएकी सावित्री देवीले पर्वका बेला माग बढ्ने भए पनि बजारमा सामान राखेर बिक्री गर्ने उपयुक्त स्थान नहुँदा सडक किनारमै व्यापार गर्नुपरेको बताउनुभयो। व्यवस्थित बजारको अभावमा व्यापारीले विभिन्न कठिनाइ भोग्नुपरेको उहाँको भनाइ छ।
त्यस्तै, बाँसका सामग्री बिक्री गर्दै आउनुभएका चन्देश्वर मण्डलले पनि छुट्टै बिक्रीस्थल नहुँदा सडक किनारमा सामान राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो। सडकमा सवारीसाधनको आवागमन, धुलो र मानिसको भीडले व्यापार गर्न कठिनाइ हुने गरेको उहाँले बताउनुभयो।

व्यापारीहरूका अनुसार सडक किनारमा सामान राखेर व्यापार गरेबापत ठेकेदारले शुल्क उठाउने गरे पनि बजारको सरसफाइमा भने ध्यान दिइएको छैन। शुल्क तिर्नुपरे पनि नियमित सरसफाइ नहुँदा व्यापारी आफैँले सडक तथा आसपासको क्षेत्र सफा गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। शुल्क उठाउने निकायले सरसफाइ र बजार व्यवस्थापनको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने उनीहरूको माग छ।
औरही नगरपालिका–१ का स्थानीय रामवरण मण्डलले बजार अव्यवस्थित हुँदा सर्वसाधारणको आवागमनमा समेत समस्या हुने गरेको बताउनुभयो। औरही बजारमा हरेक मङ्गलबार र शुक्रबार हाट लाग्ने गरेको छ। हाटका दिन सडक किनारमा पसल राखिनुका साथै सवारीसाधनसमेत सडक आसपासमै पार्किङ गरिँदा आवागमन प्रभावित हुने गरेको उहाँले बताउनुभयो। बजारको अव्यवस्थाका कारण कतिपय अवस्थामा घर पुग्नसमेत करिब एक किलोमिटर घुम्नुपर्ने अवस्था आउने गरेको उहाँको भनाइ छ।

औरही बजारको व्यवस्थापनको जिम्मेवारी श्री प्रसाद सिंह नमुना माध्यमिक विद्यालयको मातहतमा छ। औरही नगरपालिका–२ मा रहेको उक्त विद्यालयको नाममा दर्ता भएको करिब २८ कठ्ठा जग्गामा बजार सञ्चालन हुँदै आएको छ। विद्यालयले उक्त जग्गा ठेक्कामा लगाएर बजार सञ्चालन गर्दै आएको भए पनि व्यवस्थापन पक्ष भने कमजोर रहेको स्थानीयको गुनासो छ।
विद्यालयको जग्गामा बजार सञ्चालन भए पनि गाउँतर्फ जाने सडक बजार क्षेत्रबाहिर पर्छ। बजारमा पर्याप्त बिक्रीस्थल नहुँदा व्यापारीले उक्त सडकको किनार तथा छेउछाउमा समेत सामान राख्ने गरेका छन्। यसले पैदलयात्रु र सवारीसाधनको आवागमनमा थप समस्या सिर्जना गरेको स्थानीय बताउँछन्। व्यवस्थित पार्किङको व्यवस्था नहुँदा बजारका व्यापारिक गतिविधि र सवारीसाधन सडकसम्म फैलिने गरेका छन्।

स्थानीयका अनुसार विद्यालयले बजार ठेक्काबाट प्राप्त हुने रकममध्ये २५ प्रतिशत बजार व्यवस्थापनमा खर्च गर्ने प्रतिबद्धता जनाएको थियो। तर, उक्त रकम हालसम्म व्यवस्थापनमा खर्च भएको आफूहरूले नदेखेको रामवरण मण्डलले बताउनुभयो। बजार व्यवस्थापनका लागि छुट्याइएको रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्ने विषयमा पारदर्शिता आवश्यक रहेको उहाँको भनाइ छ।

बजार व्यवस्थापनमा विद्यालय प्रशासन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवा, उद्योग वाणिज्य सङ्घ तथा युवाहरूले पर्याप्त चासो नदिँदा बजार थप अव्यवस्थित बन्दै गएको स्थानीयको आरोप छ। व्यवस्थित बिक्रीस्थल, पार्किङ, नियमित सरसफाइ र सडक आवागमन सहज बनाउने व्यवस्था नहुँदा व्यापारी र सर्वसाधारण दुवै प्रभावित भएका छन्।
यता, विद्यालय प्रशासनले बजारको अव्यवस्थित अवस्थाबारे आफूहरू जानकार रहेको जनाएको छ। विद्यालय प्रशासनका अनुसार बजार व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। ठेक्काबाट प्राप्त रकममध्ये व्यवस्थापनका लागि छुट्याइएको २५ प्रतिशत रकम विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर खर्च गरिने र आवश्यक निर्णय गरी व्यवस्थापनको काम अगाडि बढाइने प्रशासनको भनाइ छ।

तिहार र छठजस्ता महत्त्वपूर्ण पर्वका बेला परम्परागत बाँस तथा माटाका सामग्रीको माग बढ्ने भएकाले बजारमा व्यापारी र ग्राहकको चाप पनि बढ्ने गरेको छ। यस्तो अवस्थामा बजारलाई व्यवस्थित बनाउन निश्चित बिक्रीस्थल निर्धारण, सवारीसाधनका लागि पार्किङ, नियमित सरसफाइ र गाउँ जाने सडकलाई अवरोधरहित बनाउनुपर्ने स्थानीयको माग छ।
बजारबाट शुल्क उठाउने निकायले त्यसअनुसार आवश्यक सुविधा र व्यवस्थापनको जिम्मेवारी पनि पूरा गर्नुपर्ने व्यापारी तथा स्थानीयवासीको भनाइ छ। बजार व्यवस्थापन प्रभावकारी बनाउन सके परम्परागत सामग्रीको व्यापार प्रवर्द्धन हुनुका साथै सर्वसाधारणको आवागमनसमेत सहज हुने उनीहरूको अपेक्षा छ।
















