महोत्तरी – महोत्तरीको औरही नगरपालिका–८ टिम्कियामा कृषि सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने प्रयास असफल भएको छ। दीपावलीको मौका छोपेर सोमबार राति अज्ञात व्यक्तिले ट्रान्सफर्मर चोरी गर्न खोजे पनि स्थानीयवासीको सतर्कताका कारण चोरी हुनबाट जोगिएको हो।
औरही नगरपालिका–८ स्थित वडा कार्यालयको नयाँ भवनबाट करिब ३०० मिटर पश्चिममा स्थानीय किसान प्रभु यादव र झगरु यादवको खेतमा उक्त ट्रान्सफर्मर जडान गरिएको थियो। नगरपालिकाको बजेटबाट करिब एक वर्षअघि स्थापना गरिएको ट्रान्सफर्मरको विद्युत् तार काट्नुका साथै नटबोल्ट खोलेर खेतमा खसालिएको अवस्थामा भेटिएको थियो। तर, ट्रान्सफर्मर लैजान भने चोरहरू असफल भएका थिए।



मङ्गलबार बिहान खेतमा जाने क्रममा स्थानीयवासीले ट्रान्सफर्मर खसालिएको अवस्थामा देखेपछि गाउँभरि खबर फैलिएको थियो। स्थानीयवासीले समयमै घटनाबारे जानकारी पाएपछि सम्भावित चोरी हुनबाट जोगिएको हो।

औरही नगरपालिका–८ का वडाध्यक्ष रामआश्रय यादवका अनुसार चोरीमा संलग्न व्यक्तिहरूले ११ हजार भोल्टको विद्युत् लाइनमा जोडिएको तार काटेर ट्रान्सफर्मर खेतमा खसालेका थिए। घटनाबारे जानकारी पाएलगत्तै संलग्न व्यक्तिको खोजतलासका लागि इलाका प्रहरी कार्यालय रामगोपालपुरलाई खबर गरिएको उहाँले बताउनुभयो।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो। घटनाबारे गौशाला विद्युत् कार्यालयलाई समेत जानकारी गराइएको र सुरक्षाका लागि ट्रान्सफर्मर हाल औरही सबस्टेसनमा राखिएको उहाँले बताउनुभयो।
स्थानीय युवा विनोद यादवले बिहान खेतमा जाँदा ट्रान्सफर्मर खसालिएको अवस्थामा देखेपछि गाउँलेलाई खबर गरिएको बताउनुभयो। कृषि सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर गाउँबस्तीबाट टाढा एकान्त स्थानमा राखिएकाले चोरीको जोखिम बढेको उहाँको भनाइ छ।
ट्रान्सफर्मरको सुरक्षामा नगरपालिका र वडा कार्यालयले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले कृषि प्रयोजनका उपकरणको संरक्षणमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो। तराई–मधेशमा पर्याप्त वर्षा नहुँदा किसान स्यालो ट्युबेलमा मोटर जडान गरी विद्युत्को सहायताले खेत सिँचाइ गर्न बाध्य रहेको अवस्थामा कृषि ट्रान्सफर्मर चोरीको प्रयास हुनु किसानका लागि थप चिन्ताको विषय भएको उहाँले बताउनुभयो।
स्थानीय किसान लालबाबु यादवले कृषि ट्रान्सफर्मर किसानको सिँचाइ सुविधासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण उपकरण भएकाले यसको सुरक्षा आवश्यक रहेको बताउनुभयो। ट्रान्सफर्मर चोरी भएमा सिँचाइ सेवा प्रभावित हुनुका साथै खेतीपातीमा समेत असर पर्ने भएकाले स्थानीय सरकार र विद्युत् निकायले यसको सुरक्षामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
त्यस्तै, किसान झगरु यादवले सरकारी बजेटबाट किसानको सिँचाइ सुविधाका लागि जडान गरिएको उपकरण नै सुरक्षित नहुनु चिन्ताजनक भएको बताउनुभयो। चोरीमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गर्दै उहाँले कृषि ट्रान्सफर्मरलाई एकान्त खेतबाट गाउँबस्तीनजिक सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन नगरपालिका, वडा कार्यालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो।
इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुखका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटाइएको र आवश्यक मुचुल्का उठाइएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलासका लागि अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो।
एक वर्षमा ५८ ट्रान्सफर्मर चोरी
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशका विभिन्न जिल्लाबाट ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन्। तीमध्ये सबैभन्दा बढी महोत्तरीमा २८ वटा ट्रान्सफर्मर चोरी भएका छन्।
त्यस्तै, सर्लाहीमा १७, धनुषामा १० र रौतहटमा तीन वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्कमा उल्लेख छ। प्रदेशभर ट्रान्सफर्मर चोरीका घटनामा २० वटा मुद्दा दर्ता भएका छन् भने ती घटनामा संलग्न रहेको आरोपमा छ जना पक्राउ परेका छन्।
औरही नगरपालिकामा यसअघि पनि कृषि सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो। नगरपालिका–१ औरही गाउँको दक्षिणतर्फ रहेको ट्रान्सफर्मर गत साउन २८ गते चोरी भएको थियो। यसअघि एउटा ट्रान्सफर्मर चोरी हुनु र पुनः वडा नं. ८ टिम्कियामा चोरीको प्रयास हुनुले नगरपालिकाभित्र कृषि सिँचाइका उपकरणको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखाएको छ।
कृषि उत्पादनका लागि सिँचाइ महत्वपूर्ण मानिने तराई–मधेश क्षेत्रमा कृषि ट्रान्सफर्मर किसानका लागि अत्यावश्यक पूर्वाधार हुन्। सरकारी लगानीमा जडान गरिएका यस्ता उपकरणको संरक्षण, नियमित निगरानी र चोरी नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ।








