मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीमा बिहीबार बिहान भएको हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएपछि सिंगो गाउँ अहिले शोकमा डुबेको छ।
एउटै टोलका १३ जनाको मृत्यु भएपछि स्थानीय बासिन्दा स्तब्ध छन्। उनीहरूको घरमा बिहीबारदेखि नै चुल्हो बलेको छैन। छठ पर्वको रौनक बढ्दै गएको समयमा सुन्दरपुरवासी शोकमा डुबेका हुन्। मृतकका परिवार, छिमेकी र आफन्तजनमा रुवाबासी चलेको छ भने उनीहरू अहिले शवको पर्खाइमा छन्।



घरछेउकै १३ जनाको मृत्यु भएपछि गाउँ नै स्तब्ध भएको स्थानीय सत्यनारायण रायले बताए। ‘दुर्घटनाले गर्दा छठको रौनक नै हराएको छ, अब पर्व कसरी मनाउने भन्ने ठेगान छैन,’ उनले भने। स्थानीय चुल्हिया महतोले काम गर्ने जाँगर नै हराएको बताइन्। वर्षौंदेखि सँगै छठ मनाउँदै आएका परिवार नै सखाप भएपछि गाउँमा छठको चहलपहल हराएको उनको भनाइ छ।
दुर्घटनामा अवधेश यादवको एकै परिवारका ६ जनाको मृत्यु भएपछि आमा निर्मलादेवी यादव अचेत अवस्थामा पुगेकी छिन्। उनलाई सम्हाल्न छिमेकी तथा आफन्तलाई हम्मेहम्मे परेको छ। भतिजाको परिवार नै उजाड भएपछि अवधेशका काका प्रेमलाल यादवको आँसु रोकिएको छैन। जेठा भतिजा अवधेशकी श्रीमती पुनम यादव तथा छोरीहरू अनु, दीक्षा र दीपिकाको मृत्यु भएको प्रेमलालले बताए। सोही दुर्घटनामा अवधेशका दुई भाइ विकेश र सुदेश यादवको पनि निधन भएको छ। विकेश इन्जिनियरिङ अध्ययनरत थिए भने बुहारी पुनम ८ महिनाकी गर्भवती थिइन्।
दुर्घटनामा अवधेशका डेढ वर्षीय छोरामात्र जीवित छन्, उनको काठमाडौंमा उपचार भइरहेको छ। ‘हाम्रो वंशमै ठूलो वज्रपात परेको छ,’ प्रेमलालले भने, ‘अवधेश पनि सोही गाडीमा आएको भए बाँच्दैनथे, उनी बितेको भए आमा र नाबालक छोराको झन् के हालत हुन्थ्यो !’ एक–दुई दिनपछि आउँछु भनेकाले अवधेश जोगिएको काकाले सुनाए।
अवधेशको घरमा अब आमा र सानो छोरामात्र बाँकी छन्। उनका बुबा रामसुन्दर रायको ८ वर्षअघि कामको सिलसिलामा भारतको चण्डीगढमा निधन भएको थियो।प्रमोद रायको घरमा पनि बिहीबारदेखि चुल्हो बलेको छैन। दुर्घटनामा उनका छोरा गुडु यादव र बुहारी गायत्री यादवको मृत्यु भएको छ। आमाबुबासँगै घर आउँदै गरेका ५ वर्षीय सक्षम यादव र ३ वर्षीय सुजन यादव भने बाँच्न सफल भएका छन्।
अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका सक्षमले दुर्घटनाका बेला बुवाले आफूहरू दुई दाजुभाइलाई गाडीबाट बाहिर फालेकाले बाँच्न सफल भएको बताए। सक्षम अहिले हजुरबुवासँग घरमा छन् भने सुजनको अस्पतालमा उपचार भइरहेको छ। निरसु रायको परिवारको पनि बिचल्ली भएको छ। काठमाडौंको जडीबुटीमा तरकारी व्यापार गरेर घर चलाउँदै आएका छोरा राकेश राय र १४ वर्षीय नाति रोहन रायको निधन भएपछि घरको छानो उडेजस्तो भएको निरसुले बताए।

दुई वर्षदेखि तरकारी व्यापारमा लागेका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको पनि मृत्यु भएको छ। दाइ देवेन्द्र रायसँगै गाडीमा आउँदै गरेका रामदुलारको निधन भए पनि दाइ देवेन्द्र भने बाँच्न सफल भएका छन्। मृतकमध्ये अमिरी रायका २५ वर्षीय छोरा राकेश राय पनि रहेका छन्। गाडी चालक कविलासी नगरपालिका–८ का रविशंकर मण्डलको पनि घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट घर फर्किरहेका यात्रु सवार मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदीको चिसापानीमा दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमध्ये अधिकांश सुन्दरपुरकै स्थानीय हुन्। दुर्घटनामा एउटै परिवारका सदस्यसमेत गुमेपछि गाउँमा पीडामाथि पीडा थपिएको छ। कतै परिवारका सदस्य गुमाएको शोक छ भने कतै बालबालिकाले अभिभावक गुमाएका छन्। छठ पर्वको खुसी साट्न घर फर्किएकाहरूको यात्रा कहिल्यै नफर्किने गरी टुंगिएपछि सुन्दरपुर शोकमग्न बनेको छ।
सहमतिपछि परिवारले बुझे शव
सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तले शव बुझेका छन्। दुर्घटनामा ज्यान गुमाएकाहरूको एकै स्थानमा शुक्रबार राति नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गरिने चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बताए।
यसअघि पीडित परिवारले उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिँदै केही समय धर्नासमेत दिएका थिए। दुर्घटनाका दोषीलाई कारबाही गर्ने, अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणको जिम्मेवारी राज्यले लिने र गाडीधनी तथा बिमा कम्पनीले प्रदान गर्ने क्षतिपूर्तिमा थप रकम उपलब्ध गराउने सहमति जुटेपछि शव बुझिएको अध्यक्ष यादवले जानकारी दिए। (अन्नपूर्णपाेष्ट)




