विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशको पुरुष क्रिकेट टोली छनोट गर्ने उद्देश्यले विराटनगरमा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्ड, कोशीको आयोजनामा विराटनगरस्थित मेरिलिबोन क्रिकेट ग्राउन्डमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो।
कार्तिक २७ देखि मङ्सिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका नौ जिल्लाका टोली सहभागी छन्। पहिलो दिन भएका दुई खेलमा मोरङ र झापाले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।




उद्घाटन दिनको पहिलो खेलमा मोरङले धनकुटालाई ९ विकेटले पराजित गर्यो। २० ओभरको खेलमा धनकुटाले दिएको ४६ रनको लक्ष्य मोरङले ६ ओभरमै एक विकेट गुमाएर ५१ रन बनाउँदै पूरा गरेको थियो। मोरङका क्रितिक कामतले अविजित २३ र सकिब हकले अविजित १८ रन बनाए।
त्यस्तै, दोस्रो खेलमा झापाले पाँचथरलाई १९३ रनको फराकिलो अन्तरले हरायो। झापाले दिएको २५४ रनको लक्ष्य पछ्याएको पाँचथर ६० रनमै समेटिएपछि झापा विजयी बनेको हो। झापाका भुपाल दंगालले अविजित ९१ रन बनाए भने अंकित सुवेदीले ७७ र रविन्द्र यादवले ५३ रनको योगदान गरे।
बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार प्रतियोगिताको दोस्रो दिन सुनसरी र खोटाङ तथा इलाम र ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ। उनले नेपाल क्रिकेट संघबाट कोशी प्रदेशका पाँच जिल्ला मात्र मान्यताप्राप्त भए पनि प्रदेशस्तरीय छनोटमा नौ जिल्लालाई सहभागी गराइएको जानकारी दिए।

कोशी प्रदेशमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघबाट मान्यता पाएका छन्। मान्यताप्राप्त जिल्लाबाहेकका टोलीलाई समेत समेटेर आयोजना गरिएको यस प्रतियोगितामा पहिलोपटक नौ जिल्लाको सहभागिता रहेको बोर्डले जनाएको छ।
प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने पुरुष क्रिकेट टोली तयार गरिने बोर्डको तयारी छ।




