खोटाङ सामाजिक सेवा मञ्च विराटनगरको आयोजनामा साहित्यिक रचना वाचन तथा सर्जक प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम सोही भवनमा शनिबार मञ्चका अध्यक्ष कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ लक्ष्मी उप्रेती प्रमुख अतिथि र प्राज्ञ विवश पोखरेल विशिष्ट अतिथि थिए।



कार्यक्रमको उद्घोषण नानुमैया दाहालले गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ उप्रेतीले सामाजिक संस्थाले साहित्यिक गतिविधिलाई प्राथमिकता दिँदै कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण भएको बताइन्। यस्ता कार्यक्रमले साहित्यिक सिर्जना र सर्जकलाई प्रोत्साहन मिल्ने उल्लेख गर्दै उनले सहभागी सर्जकहरूलाई शुभकामना व्यक्त गरिन्।

विशिष्ट अतिथि प्राज्ञ विवश पोखरेल, बलराम पोखरेल, मधु पोखरेल, सरला चापागाईं, बाबुराम पोखरेल र दिनेशराज सुवेदीले पनि शुभकामना व्यक्त गर्दै आफ्ना साहित्यिक रचना वाचन गरेका थिए।
कार्यक्रममा हरि कट्टेल, अन्जु अश्रु, भवानी पोखरेल, लक्ष्मी पोखरेल, शम्भुप्रसाद भट्टराई, करुणा जोशी, शारदा भट्टराई, प्रयाग न्यौपाने, गोपाल निर्भिक, केशव रिजाल, राधा भट्टराई, हेमसागर पोखरेल, जयन्त प्रधानांग, अर्जुन, नेपाल, डोमी कामत र स्वयम्भुनाथ कार्की,भूपाल अधिकारी,ऋषि तिवारी लगायत तीन दर्जनभन्दा बढी साहित्यकारले कविता, गजल, मुक्तक तथा लघुकथा वाचन गरेर सुनाए ।
साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रममा चार जना सर्जकलाई पुरस्कार प्रदान गरिएको थियो। हास्यव्यङ्ग्यकार अच्युतप्रसाद खतिवडा, घनश्याम पोखरेल र खोटाङ सामाजिक सेवा मञ्चको व्यवस्थापनमा जनही पाँच सय रुपैयाँका दरले चारवटा सर्जक प्रोत्साहन पुरस्कार वितरण गरिएको हो।

चिठा प्रक्रियाबाट छनोट भएका प्रयाग न्यौपाने, सुजाता राई, कुमार श्रेष्ठ र सुशीला प्रसाईंले जनही पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। पुरस्कारका लागि चिठा प्रक्रियाबाट सर्जक छनोट गर्ने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक बाबुराम पोखरेलले गरेका थिए।
खोटाङ सामाजिक सेवा मंच बिराटनगरले हालै संस्थाको सबै गतिविधि समेटेर “दियालो ” स्मारिका प्रकाशन गरेको छ। प्रत्येक महिनाको पहिलो शनिबार हुनेगरेको रचना वाचनको शृङ्खला ५५ पुगेको हुँदा आगामी शृङ्खलामा समेत बाचन हुने रचना समेत समेटेर उत्कृष्ट मध्येका ५१ कैविता,मुक्तक र गजलको संग्रह उचित समयमा प्रकाशन गर्ने अध्यक्ष मार्सेलीले बताए।




