जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार उहाँले बिहान १० बजे मुख्यमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।



यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेको थियो । तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्रीमा नियुक्त हुनुभए पनि यादवका लागि सरकारलाई स्थायित्व दिनु मुख्य चुनौती बनेको छ । संवैधानिक व्यवस्थाअनुसार उहाँले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, अन्य राजनीतिक दलसँग सत्ता सहकार्यका विषयमा सहमति जुट्न नसकेकाले विश्वासको मत प्राप्त गर्ने आधार अझै स्पष्ट हुन सकेको छैन ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल कायम सदस्य सङ्ख्या १०३ रहेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्नेछ ।
जसपा नेपालसँग २८ जना प्रदेशसभा सदस्य रहे पनि एक जना सदस्य निलम्बनमा रहेकाले हाल २७ जनाको मात्रै समर्थन रहेको छ । यसअनुसार मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप २६ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्ने देखिन्छ ।
यता नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताहरूले भने आफूहरूसँग बहुमत पुग्ने प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । उनीहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्नसमेत आग्रह गर्नुभएको थियो ।
तर, प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेस प्रदेशको सत्ता समीकरण नयाँ राजनीतिक मोडमा पुगेको छ ।
यादवको मुख्यमन्त्रीमा दोस्रो कार्यकाल
सरोजकुमार यादव यसअघि पनि मधेस प्रदेशको मुख्यमन्त्री भइसक्नुभएको छ । उहाँ पहिलोपटक २०७९ पुस २७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
तर, २०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँको पहिलो कार्यकाल समाप्त भएको थियो । त्यसबेला प्रदेशसभामा उपस्थित १०३ जना सांसदमध्ये ५० जनाले मात्रै विश्वासको मतको पक्षमा मतदान गर्नुभएको थियो भने ५३ जनाले विपक्षमा मतदान गर्नुभएको थियो ।
पहिलो कार्यकालमा विश्वासको मत गुमाउनुभएका यादव दोस्रोपटक मुख्यमन्त्री बन्नुभएको छ । यसपटक भने उहाँका लागि मुख्यमन्त्री पदको शपथ लिनुभन्दा पनि प्रदेशसभामा आवश्यक बहुमत जुटाएर सरकारलाई निरन्तरता दिनु ठूलो चुनौती हुने देखिएको छ ।
दलहरूबीचको बदलिँदो राजनीतिक समीकरण र सत्ता सहकार्यबारे देखिएको अनिश्चितताका कारण यादव नेतृत्वको सरकारको भविष्य विश्वासको मत प्राप्त गर्ने क्षमतामा निर्भर रहनेछ ।




