जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ। बिहान ८ बजेबाटै मतदान शुरु गर्ने तयारी गरिए पनि केही ढिलोगरी जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको हो।
बुधबार नै मतदानको कार्यतालिका रहे पनि हिजो दुई समूहबीच झडप भएपछि मतदान प्रभावित भएको थियो।



कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएकोमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अहिले ६७ पदका लागि मतदान हुँदै छ। प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ।
नयाँ नेतृत्व चयनका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको छ। कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ काँग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन्।
निधि र शेखर कोइराका संयुक्त उम्मेदबार रामसरोज रहेकाले दुवै उम्मेदबार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ।




