
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताएका छन्।
मंगलवार प्रदेश सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागि भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन् ।
उनले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताए ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए । उनले मधेश प्रदेस सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गरे ।
‘केन्द्रको जुन गठबन्धन छ, त्यही अनुसारले प्रदेशमा गठबन्धनको सरकार हुन्छ । त्यो हिसावले मैले नै भनेकि अब सहजीकरण गरिदिनुस् । अनि राजीनामा गर्नुभयो’ उनले भने, ‘केन्द्रको गठबन्धनमा त जनमत छ नि उहाँहरुले पनि विश्वासको मत दिनुभएको छ प्रधानमन्त्रीलाई । तर उहाँहरु सरकारमा त हुनुहुन्न । त्यो सन्दर्भमा अहिले प्रदेशमा बस्ने नबस्ने कुनै किसिमको सहमति भएर आएको छैन । एमालेका मन्त्रीहरुले राजीनामा दिएपनि उहाँहरुको विश्वासको मत मसँग रहिरहन्छ ‘
उनले नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा पनि सरकारमा आउने र पछिसम्म आफ्नै नेतृत्व रहने दाबी गरे । एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाइसकेका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिए ।