धनुषा- देशको एक मात्र रेल सेवाको पटक पटक संचालनको मिति तयर भएर अहिले सम्म संचालन बारे अन्योलग्रस्त बन्दै आएकोमा बल्ल रेल सञ्चालनको विषय टुंगोमा पुग्ने देखिएको छ।
भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३५ किलोमिटर लामो भारत-नेपाल रेल सेवा सन् २०२२ को फस्ट जनवरी अर्थात पुस १७ गते देखि दिनदेखि सञ्चालनमा आउने टाइम्स अफ इन्डियाले जनाएको छ।



जयनगरदेखि कुर्था, कुर्थादेखि बिजलपुरा र बिजलपुरादेखि बर्दिबाससम्मको ६८ किलोमिटरको यो महत्वाकांक्षी आयोजना तीन चरणमा सम्पन्न गर्ने जिम्मा भारतको रेल्वे शाखा इरकोन इन्टरनेशनल लिमिटेडलाई दिइएको थियो।
भारत ईसीआरका प्रमुख जनसम्पर्क अधिकारी (सीपीआरओ) राजेश कुमारका अनुसार रेल्वेले जयनगरदेखि कुर्थासम्मको परियोजना पूणर् रूपमा सम्पन्न गरिसकेको जनाउनुभएको छ।
जनकपुर- जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी र भारतीय कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको थियो।
कोंकण रेल्वेले सेप्टेम्बर २०२० मा नेपाल सरकारलाई कम्तीमा १० वटा रेलको डिब्बा हस्तान्तरण गरेको थियो तर दुई छिमेकी देशबीच रेल सेवा सञ्चालनमा आउन सकेको भने थिएन।
अहिलेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले यात्रुको आवश्यकता पूरा गर्न शुरुमा जयनगर र कुर्थाबीच पाँच डिब्बाको लोड कम्पोजिसन सहित यात्रुवाहक रेल सञ्चालन गर्न इच्छुक रहेको बताउँदै रेल्वेले ट्रयाक बिछ्याउने काम पनि पूरा गरिसकेको राजेशकुमारले बताउनुभयो।
जयनगर र कुर्था बीचको रेल सेवा शुरु भएपछि भारत र नेपालका विज्ञहरूको संयुक्त टोलीले ट्रयाकको फिटनेसको निरीक्षण र कुर्था-बिजलपुरा मार्गको द्रुत परीक्षण गर्नेछन्।
तेस्रो चरणले बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटर लम्बाइ समेट्नेछ। तर, रेल्वेले यस खण्डमा नयाँ लाइन बिछ्याउन र स्टेशन भवन निर्माणका लागि नेपाल सरकारबाट कुनै जग्गा प्राप्त गर्न नसकेको टाइम्स अफ इन्डियाले जनाएको छ।
जयनगरदेखि बर्दिबाससम्मको पूरै खण्डमा आठ वटा स्टेशन र ६ वटा हल्ट हुने जनाइएको छ।
सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारतीय रुपैयाँ हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको छ।




