काठमाडौं - सत्ता गठबन्धन बैठकले संसदमा टेबुल भएको अमेरिकी सहयोग सम्झौता एमसीसी पास गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजै दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरिने निर्णय गरेको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ। बैठकमा ११ बुँदे परिमार्जन सहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका हुन्।
सत्ता गठबन्धन समन्वय समितिका संयोजनक रामचन्द्र पौडेलले बैठकपछि भने, “एमसीसीको व्याख्यात्मक टिप्पणी गरेर संसद्बाट पास गर्ने निर्णय भएको छ, एमसीसीबारे उठेका सवालहरू सम्बोधन गर्नेगरी व्याख्यात्मक टिप्पणीसमेत एट्याच गरेर पारित गर्ने निष्कर्षमा पुगेका छौं।”
लामो समयदेखि एमसीसीलाई लिएर गठबन्धन दलभित्र मतभिन्नता देखिँदै आएको थियो। सत्ताको प्रमुख दल नेपाली कांग्रेसले कुनै हालतमा एमसीसी पास गराउन खोजे पनि अन्य साझेदार दल खासगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकता समाजवादी) ले यथास्थितिमा पास हुन नहुने भन्दै असहमति जनाइरहेका थिए।




