जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरिएको शहिदद्वारको शुक्रवार साँझ उद्घाटन गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा शहिदद्वारको निर्माण सम्पन्न भएको जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए ।



शहिदद्वारको निर्माण धनुषाकारको रहेको छ । धनुषाकारको उक्त शहिदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना सहिदहरू नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ ।
मधेश आन्दोलनको क्रममा जनकपुरधाममा शहादत दिएका तीनै जनाको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो ।
यसै गरी मधेश आन्दोलनको क्रममा शहादत दिएका सबै मधेशी शहीदहरूको नाउँ शिलापत्र राखिएको छ। मधेश आन्दोलनको क्रममा मेची देखि महाकाली सम्मका मधेश आन्दोलनका एक सय १६ जना शहीदहरुको नामप्लेट राखिएको छ ।
निक्कै भव्य र आकर्षक स्वरुपमा निर्माण शहिदद्वारको निर्माण भएको छ । जनकपुरधामको गरिमालाई झल्काउने किसिमले धनुष आकारको शालीन रहेको छ ।
शहिदद्वारको निर्माण भएको अवसर पारेर सो ठाउँमा शुक्रवार साँझ धार्मिक अनुष्ठानको आयोजना समेत गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सहीदको सपना साकार हुने विश्वास व्यक्त गरे।
मेयर साहले भने, ‘शहीदको सहादतको बलमा म मेयर भए, भोज भतेर र अनावश्यक खर्च नगर्छु नगर्न दिन्छु ।’
मेयर साहले आफू निर्वाचित भएर आएपछि पहिलो बैठकवाट नगरपालिकाको नामको आगाडिमा धाम थप्ने र शहीद गेट निर्माण गर्ने निर्णय गरेको र त्यो साकार भएको बताए ।
मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरुको गुण भुल्न नसक्ने बताउँदै मेयर साहले अधिकार, पहिचान र सम्मानकालागि आफ् ना जिवन उत्सर्ग गरेकाहरुको ऋण चुक्ता गर्न नसक्ने बताए ।





