
हरिप्रसाद पौडेल
महेन्द्रनगर- क्षीरेश्वरनथ नगरपालिका वडा नम्बर -५ सखुवा महेन्द्रनगर धनुषामा रहेको श्री क्षीरेश्वर जनता माध्यमिक विद्यालय सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हो।
यस विद्यालयको शैक्षिक कार्यक्रमहरु सखुवा बजारको ठेक्का बाट आउने आम्दानी बाट चल्दै आएको छ।यसको आफ्नै बजार बाट आउने आम्दानी बाहेक अन्य कुनै ठाउँ बाट वजेट आउँदैन।
बजारको आम्दानी बाट चल्ने विद्यालय भएको हुनाले पनि यसको आर्थिक श्रोतको रूपमा रहेको सखुवा बजारको ठेक्काको बन्दोबस्त समयमा नै गर्नु पर्ने बाध्यता पनि विद्यालयको लागि उतिकै महत्त्व छ।यति हुँदा हुँदै पनि विद्यालय मातहतको बजारको ठेक्का समयमा लाग्न नसक्नु र केही गरी बजार ठेक्का लागे पनि ठेकेदारले ठेक्कामा कबुल गरेको नगद रकम समयमा विद्यालयमा जम्मा नगर्नु ठेकेदार,विद्यालय व्यवस्थापन समिति र गुठी समिति समेतको चरम लापरवाही वा मिलीमतोमा आर्थिक अनियमितता गरेको होकि भन्ने कुराको शंका उत्पन्न हुन्छ।
यस्तै घटना यसै चालू आर्थिक वर्ष २०७९/२०८०को ठेक्कामा पनि हुन गएको कुरा हालै खुल्न आएको छ।यस आर्थिक वर्ष को बजारको ठेक्का नगदमा लगाउने भनेर सूचना सार्वजनिक भएको थियो र विगत पाँच - सात वर्ष अगाडि देखि बजार नगदमा ठेक्का लाग्दै आएको पनि हो।
यस आर्थिक वर्ष सखुवा बजार नगदमा ठेक्का लगाउने भनिए पनि बजारको ठेक्का वापतको रकम करिब रु.७७ लाख हाल सम्म ठेकेदारले हाल सम्म पनि जम्मा नगरेको बुझिन आएको छ।करिब रु.२ करोड भन्दा बढी रकममा बजार ठेक्का लागेपनि ठेकेदारले केही रकम नगद बुझाएका थिए भने करिव रु .७७ लाखको भाउचर बुझाएका थिए। विद्यालयमा जम्मा गरेको बैंक भाउचरमा उल्लेखित चेकको रकम खातामा पैसा जम्मा नभएको कारण कलेक्सन हुन् नसकेको कुरा बैंकले प्रष्ट पार्दा सम्म पनि विद्यालय गुठी समितिका अध्यक्ष सन्तोष गिरीले ठेक्काको रकम विद्यालयको खातामा जम्मा नहुँदै ठेकेदार लाई बजारमा सेवा शुल्क वापत (बट्टी)उठाउन पाउने चलन पुर्जी दिएको भन्ने कुरा बुझिन आएको छ।यो चलन पुर्जी विद्यालयको खातामा ठेक्का वापत को कबुल गरेको रकम जम्मा भएको नभएको कुरा एकिन गरेर मात्र ठेकेदार लाई दिनु पर्ने हो तर घटनाले त्यस्तो गरेको देखिएन।रकम विद्यालयको खातामा जम्मा नभए पनि चलन पुर्जी दिएको देखिन्छ।चालू आर्थिक वर्ष सकिन लाग्दा सम्म उक्त रकम हाल सम्म विद्यालयमा जम्मा भएको छैन।विद्यालय लाई सम्भावित आर्थिक नोक्सानी हुन् नदिन सम्बन्धित सरोकारवाला हरुको ध्यान जानु पर्ने हो।तर त्यस्तो कुनै गतिविधि भएको देखिँदैन।
आज विद्यालयमा आर्थिक नोक्सानी हुने अवस्था हुँदा हुँदै पनि गुठीका अध्यक्ष सन्तोष गिरी के हेरेर बस्दैछन्?यस विषयमा शैक्षिक गतिविधि लाई अनुगमन गर्ने अधिकार लिएर बसेको नगरपालिका के हेरेर बस्दै छ?जनताले यिनै प्रश्नको जवाफ खोज्दै छन्।यस विषयमा निष्पक्ष छानबिन हुनु पर्यो र दोषी माथि कानूनी कार्यवाही गरी क्षतिपूर्ति भराउनु पर्ने देखिन्छ।