महोत्तरी – राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारले भाद्र महिनाको उत्कृष्ट शिक्षकका रूपमा नेपाली विषयकी शिक्षिका डिमला जर्घालाई सम्मान गरेको छ।
विद्यालयमा आफ्नो जिम्मेवारीप्रति समर्पित भई शिक्षण कार्यमा उत्कृष्ट योगदान पुर्याएको भन्दै जर्घालाई ‘महिनाको उत्कृष्ट शिक्षक’का रूपमा छनोट गरिएको विद्यालयले जनाएको छ।




जर्घा नियमित रूपमा विद्यालय उपस्थित हुने, आफ्नो जिम्मेवारीअनुसार कक्षा सञ्चालन गर्ने तथा विद्यालयको शैक्षिक सुधारका विषयमा सक्रिय रूपमा आवाज उठाउने शिक्षकका रूपमा चिनिन्छिन्। उनी कक्षा तथा शिक्षक कक्षमा रहँदा विद्यालयको शैक्षिक अवस्था, सुधारका उपाय र विद्यार्थीको सिकाइ उपलब्धिबारे छलफलमा सहभागी हुँदै आएकी छन्।
त्यस्तै, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत उनको सक्रिय सहभागिता रहने गरेको विद्यालयले जनाएको छ। शिक्षणसँगै विद्यालयको समग्र सुधारमा योगदान पुर्याएको मूल्यांकनका आधारमा उनलाई भाद्र महिनाको उत्कृष्ट शिक्षक छनोट गरिएको हो।

विद्यालयले शिक्षकहरूको नियमितता, जिम्मेवारीबोध, शिक्षण कार्यमा योगदान तथा विद्यालय सुधारमा सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यले नियमित रूपमा ‘महिनाको उत्कृष्ट शिक्षक’ सम्मान गर्दै आएको जनाएको छ।
सम्मानपछि शिक्षिका जर्घाले आगामी दिनमा पनि विद्यालयको शैक्षिक सुधार र विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। विद्यालय परिवारले सम्मान गर्ने मुल्यांकणले थप जिम्मेवारी बढाएकाे उनले बताए ।





