जनकपुरधाम- जनकपुरधामबाट अपहरणमा परेकी एक बालिकाको धनुषा प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ।
बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अपहरणमा परेकी थिइन् । अपहरणमा परेकी बालिकाको २४ घण्टा भित्रै उद्धार गरिएको धनुषा प्रहरीका प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए ।



उनका अनुसार बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नं. ८ बाट उद्धार गरिएको छ । अपहरण गर्ने व्यक्तिमध्येका एकजनाले आफ्नो दिदीको घरमा बालिकालाई लुकाएर राखेको अवस्थामा उद्धार गरिएको एसपी बस्नेतले बताए ।
शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी घटनामा संलग्नको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा कमला नगरपालिका ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दासले सहित पाँच जना पक्राउ परेको एसपी बस्नेतले बताए ।
एसपी बस्नेतले अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गर्नुपरेको थियो । उनले भने, ‘अपहरणकारी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो।’
बालिकाको खोजी गर्न धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेकै नेतृत्वमा टोली खटिएको थियो । ‘हामी बालिकाको उद्धार गरिसकेका छौं, बालिका पूणर् रुपमा स्वस्थ्य छन्’ उनले भने, ‘प्रकृया पुर्याएर परिवारजनको जिम्मा लगाएका छौं ।’
बालिकाको बुवा जनकपुर पुलचोक स्थित डेरा गरी बस्दै आएका छन् । सोही घरमा डेरा गरि बस्दै गरेका अभिषेक दासले बालिका विद्यालयबाट आएपछि अपहरण गरी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बालिकाको अपहरण गरेर अपहरणकारीले रु १५ लाख फिरौती माग गरेको पाइएको बस्नेतले बताए । यस विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




