महोत्तरी। स्थानीय तहको निर्वाचन नजिकिए सँगै महोत्तरीमा भारतीय सीमानाका बन्द हुने भएको छ । भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि महोत्तरीको सीमानाकाहरु मंगलबार राति १२ बजेदेखि बन्द हुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष एवं भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सिमा जोडीएका जिल्लाकोे सम्पुर्ण सिमा नाकाहरु बैशाख ३० गते रातको १२ बजेसम्मका लागि बन्द गरिएको जानकारी दिए ।



यस्तै निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६ को खण्ड (थ) बमोजिम जिल्लामा बुधवार राति १२ बजेदेखि निर्वाचनको अन्तिम मतपरिणाम नआउनजेलसम्मका लागि मादक पदार्थ विक्री वितरण तथा सेवनमा पूर्ण रुपले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले सूचना जारी गर्दै जानकारी दिएका हुन् ।
यसको उलंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । यस्तै स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै निर्वाचनको दिन सवारी साधन चलाउनमा रोक लगाएको छ ।
मतदानको दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दम्कल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अतिआवश्यक सेवाका सवारी साधन तथा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सार्वजनिक तथा निजी गाडी बन्द रहने जनाइएको छ ।




