जनकपुरधाम – मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर– उपमेयर पदमा उम्मेदवारी दिएका ५९ जना उम्मेदवारहरुले आफ्नो जमानत समेत बचाउन असफल भएका छन् ।
जमानत बचाउनको लागि कुल सदर मतको दश प्रतिशत मत ल्याउनु पर्ने प्रावधान अनुसार ५९ जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।



जनकपुर मेयरको लागि ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा चार जना बाहेक ३५ जनाको जमानत जफत भएको छ ।
यसरी जमानत समेत बचाउन नसक्ने उम्मेदवारहरुमा दलका उम्मेदवार देखि स्वतन्त्रहरु परेका छन्।
मेयर पदमा उम्मेदवारी दिएका जनमत पार्टीकी अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तामलोपा)की विभा ठाकुर, स्वतन्त्र उम्मेदवार बलराम महतो, जानकी राम साह सहित ३९ जनाको जमानत जफत भएको छ । जमानत जफत हुने बढी स्वतन्त्र उमेदवार देखिएको छ ।
मेयर पदमा उम्मेदवारी दिएका तीन जनाले भने पराजय भए पनि जमानत जोगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लालकिशोर साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज कुमार चौधरी र नेकपा एमालेका उम्मेदवार शिव शंकर साह (हिरा)को जमानत जोगिएको छ ।
त्यसैगरी उपमेयर पदमा २७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये २४ जनाको जमानत जफत भएको छ । नेकपा एमालेकी उम्मेदवार रुना झा र लोसपाकी उम्मेदवार रिता कुमारी मिश्रको जमानत जोगिएको छ भने बाँकी २४ जनाको जमानत जफत भएको छ ।
जनकपुरधाममा ८६ हजार ७ सय ६९ मतदाता छन् । जसमध्ये ५९ हजार ९ सय ४९ मतदान भएको थियो । मतदान भएको मध्ये प्रमुख पदमा १२ हजार २ सय ७४ मत बदर भएको छ ।
जनकपुरधाममा विभिन्न १ सय २७ पदको लागि एक हजार ३९ जनाले उम्मेदवारी दिएका थिए । वडाध्यक्ष पदमा विभिन्न दल र स्वतन्त्र गरी ३ सय ४, महिला सदस्यमा १ सय ६९, दलित महिला सदस्यमा १ सय ४० र सदस्यमा १ सय ३६ र प्रमुख उपप्रमुख गरी एक हजार ३९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मेयर पदमा १५ सय, वडाध्यक्ष पदको एक हजार र सदस्यमा पाँच सय उम्मेदवारी शुल्क निर्वाचन कार्यालयले निर्धारण गरेका थिए ।
जफत भएको रकम निर्वाचन कार्यालयको राजस्व कोषमा जम्मा हुनेछ । परिणाम घोषणा भएको ९० दिनभित्र जमानत जोगिएका उम्मेदवारले फिर्ता पाउने व्यवस्था छ ।
३० दिनभित्र प्रत्येक उम्मेदवारले खर्च विवरण पनि पेश गर्नुपर्ने समय सीमा तोकिएको छ । उपमहानगरको प्रमुख–उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार र वडाध्यक्षका उम्मेदवारले दुई लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था छ ।
यस्तै, नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार, वडाध्यक्षले दुई लाख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था छ ।
यी हुन् जनकपुरधाम उपमहानगरपालिकामा निर्वाचित हुनेहरु :
मेयर :– मनोज साह
उप मेयर :–किशोरी साह
वडा नं १ दिपनारायण यादव
वडा नं २ शिव कुमार साह
वडा नं ३ दीपेन्द्र कुमार साह
वडा नं ४ सुरेश झा
वडा नं ५ बेचन साह हलुवाई
वडा नं ६ दिनेश साह
वडा नं ७ निरज साह
वडा नं ८ दिनेश सिंह
वडा नं ९ परमेश्वर साह
वडा नं १० मिथिलेश कुमार कर्ण
वडा नं ११ अर्जुन कुमार चौधरी
वडा नं १२ महेन्द्र साह तेली
वडा नं १३ जित बहादुर राउत
वडा नं १४ पुन्य प्रताप यादव
वडा नं १५ संतोष कुमार साह
वडा नं १६ राम चन्द्र पजियार
वडा नं १७ राम वृक्ष यादव
वडा नं १८ लक्ष्मेश्वर मण्डल केवट
वडा नं १९ विनोद कुमार साह
वडा नं २० मोती राइन कवाडी
वडा नं २१ राज नारायण साह
वडा नं २२ विमलेस मिश्र
वडा नं २३ राघवेन्द्र प्रसाद साह
वडा नं २४ उपेन्द्र सहनी
वडा नं २५ चन्देश्वर साह




