काठमाडौं। सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले दुबै चुनाव एकैदिन मंसिर ४ गते गर्ने निर्णय गरेको हो। मुलुक सङ्घीय प्रणालीमा गइसकेपछिको दोस्रो निर्वाचन हुन लागेको हो।
यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा ४ मंसिरमै चुनाव गर्ने सहमति जुटिसकेको थियो। सोही सहमति अनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो। यसअघि निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको चुनाव गराउन सिफारिस गरेको थियो। तर, सरकारले भने ढिलो गरी मिति घोषणा गरेको हो। निर्वाचन आयोगका अनुसार सामान्यतः चुनाव गर्न १ सय २० दिन आवश्यक पर्छ।



तर ४ मंसीर आउन अब १ सय ८ दिन मात्र बाँकी छ। तैपनि आयोगले द्रुत गतिमा काम गर्दा निर्वाचन गर्न सक्ने अभ्यास छ। शुरुमा सत्तारूढ गठबन्धनभित्र भइरहेको अनुचित चलखेलले कतै चुनाव नै धकेलिने हो की भन्ने अनिश्चय अब हटेको छ । अब चुनावका लागि निर्वाचन आयोगले १०८ दिनको समय पाउनेछ ।
यसअघि २०७४ मा भने दुवै चुनाव एकैसाथ तर दुई चरणमा चुनाव भएको थियो। त्यतिबेला मंसिर १० र २१ मा निर्वाचन भएको थियो। यसअघि २०७९ वैशाख ३० मा एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिएको थियो।




