जनकपुरधाम- जनकपुरधाम स्थित प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९सय ४१ बलिप्रदान गरिएको छ।
गत वर्ष २०७८ सालमा राजदेवी मन्दिरमा १४ हजार ३ सय ६६ बलि प्रदान गरिएको थियो भने यस वर्ष ५सय ७५ बलि बढी प्रदान गरिएको आयोजक महावीर युवा कमिटिले जनाएको छ।
निशा पूजा सम्पन्न भए लगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।
आफ्नो मनोकांक्षा पुरा भएको र पुरा हुने विश्वासका साथ बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालुभक्तजन सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले बोकाबलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा (बलि प्रदान स्थान) राखिएको जानकारी दिए । अध्यक्ष साहको अनुसार प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।
राजदेवी मन्दिरमा अघिल्लो केहि वर्षमा बोका बलि प्रदानको संख्या हेर्दा २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो भने २०७७ सालमा ८ हजार ९ सय ६८, २०७६ सालमा १४ हजार ९ सय ९७, २०७५ सालमा १४ हजार ९ सय ९७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७३ सालमा १४ हजार ६ सय १७, २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७० सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो ।


