जनकपुरधाम- धनुषामा कुल ६५.७७ प्रतिशत मतदान भएको छ। धनुषा जम्मा खसेकाे मत ३ लाख १२ हजार १ सय ७० मध्ये महिला मतदाता १ लाख ६३ हजार ७ सय ४३ र पुरुष १ लाख ४८ हजार ४ सय २७ रहेको छ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६५.७७ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६५.७७ प्रतिशतसम्म मतदान भएको जानकारी दिए । उनले अब केहीबेरमा मतपेटि ढुवानी गरिने बताए ।
‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भएको छ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका थियौं । मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तैनाथ राखिएकोले अब केहीबेरपछि ढुवानी गरिने भएको छ ।’
जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
धनुषाका धेरै मतदाताहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा भएकाले अपेक्षाकृत कम मतदान भएको अनुमान गरिएको छ ।




