रवीन्द्र उप्रेती,बर्दिबास - बर्दिबास उद्योग वाणिज्य संघको पुस ५ गते हुने कार्यसमिति चुनावका कारण अहिले बर्दिबास तातेको छ ।१३ सदस्यीय समितिका लागि हुन लागेको चुनावमा कृष्णप्रसाद गौतम र विष्णुबहादुर खड्का प्यानलबीच कडा प्रतिस्पद्र्धा हुने देखिएको छ ।
दुवै प्यानलको प्रचारप्रसार र चुनावी गतिविधिले सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई समेत मात गरेको छ ।
दुवै प्यानलले छुट्टाछुट्टै सम्पर्क कार्यालय खोलेर चुनावी गतिविधिलाई तिब्र बनाएको छ। ब्यापारीहरु आआफना प्यानलको प्रचार प्रसारमा जुटेका छन् ।मंसिर २५ गते मनोनयन दर्तापछि दुवै पक्ष अहिले घरदैलोमा ब्यस्त छन् । दुवै पक्षले पत्रकार सम्मेलन गरि घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । घोषणा पत्रले ब्यापारीको निर्वाचनलाई रोचक मोडमा पुर्याएको छ ।
खड्का प्यानलले ९ बुँदे ‘प्रतिवद्धता पत्र’ सार्वजनिक गरेको छ भने गौतम पक्षले पनि पत्रकार सम्मेलन गरि १० बुँदे ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ ।दुवैका ‘पत्र’ मा दलिय घोषणा पत्रभन्दा पनि आकर्षक र लोभलाग्दा सेवा, सुविधा तथा आश्वासनको घोषणा गरिएको छ ।

खडका प्यानलको ‘प्रतिवद्धता पत्र’ को ३ नं बुदामा आफनो पक्षले जीतेमा प्रकोप पीडित ब्यापारीको सहयोगका लागि अध्यक्ष पदका प्रत्यासी विष्णुबहादुर खड्काले आफनो नीजि खर्चबाट ५ लाख ५१ हजारको अक्षय कोष स्थापनाको घोषणा गरिएको छ ।
यसलाई उछिन्दै गौतम पक्षले ‘संकल्प पत्र’ को पहिलो बुँदामै प्राकृतिक विपदामा परेका ब्यापारीको आकस्मिक सेवाका लागि अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद गौतमले आफनो तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाको अक्षया कोष स्थापना गर्ने घोषणा गरिएको छ ।

खडका प्यानलले अस्तब्यस्त उद्योग बाणिज्य संघलाई लयमा फर्काउन सवैको सुझाव, सहकार्य र पाददर्शी कार्यप्रणाली अवलंवनको घोषणा गरेको छ । घरभाडाको दीगो समाधान गर्ने र ब्यापारिको सुरक्षा तथा चोरी नियंत्रणमा पहल गर्ने, भ्याट, कर, आवेदन जस्ता प्रशासनिक कामलाई उद्योग बाणिज्य संघको कार्यालयबाट सहजीकरण गर्ने पनि उल्लेख छ । अस्तब्यस्त बर्दिबास बजारमा सौन्दर्यकरण, शुलभ शौचालय, फोहरमैला ब्यवस्थापन जस्ता गतिविधि अगि बढाउने, महिला उधमीलाई सहज र सहुलियतपूणर् कर्जाका लागि पहल गर्ने जस्ता एकपछि अर्को सेवा सुविधाका ९ बुँदे प्रतिवद्धता पत्र अघि सारेको छ ।
यता गौतम पक्षले बर्दिबासको ब्यापार एवं ब्यापारीको हकहीतका लागि घरेलु तथा साना उद्योग कार्यालयको बर्दिबासमै सेवा केन्द्र स्थपनाका लागि संस्थागत पहलको घोषणा गरेको छ। ब्यापारीको स्वास्थ्य उपचारका लागि स्थानीय नीजि असपतालमा २० प्रतिसत छुट गराउने ‘संकल्प पत्र’ मा उल्लेख छ ।
बर्दिबासको सुरक्षा ब्यवस्थालाई चुस्त बनाउन पहल गर्ने, चर्को ब्याज दर, कर प्रणाली जस्ता टड्कारा समस्या निराकरणमा पहल गर्ने विश्वाश दिलाईएको छ । समस्या बन्दै गएको घरभाडालाई सहज बनाउने, बर्दिबासका जल्दाबल्दा समस्याहरु फोहरमैला ब्यवस्थापन, सवारी पार्किङ समाधान र बजार सौन्दर्यीकरणजस्ता रचनात्मक कार्यलाई प्राथमिकता दिने उल्लेख छ । बर्दिबासको पर्यटन प्रवद्र्धनका लागि हरेक वर्ष ‘फुड फेस्टिभल’ आयोजना गरिने जस्ता गौतम प्यानलका १० बुँदे ‘संकल्प पत्र’ मा घोषणा गरिएको छ ।
संचारकर्मीको प्रश्नको जवाव दिदै अध्यक्ष पदका प्रत्याशी खड्काले गौतम नेतृत्वको कार्यसमितिले ९ वर्षे कार्यकालमा साधारणसभा पनि नगराउदा निष्कृय, गतिहीन र एकलौटी पार्दै लगेको बर्दिबास उधोग बाणिज्य संघलाई लयमा फर्काउन उम्मेदवारी दिएको बताए । आफनो प्यानलले जिते संघलाई पारदर्शी, सेवामूलक बनाउने र ब्यापारीका आवाज, आवश्यकतालाई सम्वोधन र निकास दिने प्रतिवद्धता प्रकट गरे।
अकोतर्फ पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष पदका कडा प्रतिस्पर्धी एवं वर्तमान कार्यसमितिका कार्यकारी अध्यक्ष समेत रहनु भएका गौतमले आरोप निराधार र कल्पनिक रहेको प्रतिकृया दिए ।
मठिहानीको उपशाखा रहेको बर्दिबास उद्योग बाणिज्य संघलाई महासंघमा दर्ता गरि स्वायत्त बनाएको, टीके प्रथा अन्त्य गरि चुनावी प्रणालीमा लगेको, बर्दिबासमा नापी, मालपोत, इलाका प्रशासन, यातायात ब्यवस्था जस्ता सेवा प्रदायक कार्यालय स्थापनामा अहम भूमिका निर्वाह गरेको उदाहरण प्रस्तुत गरे।
मधेश आन्दोलनको सामना गर्दै बर्दिबासलाई बन्द हुन नदिएको, पहाडी भेगका भुकंप पीडितदेखि कोरोना कालको लकडाउनसम्म प्रभावितलाई तत्काल राहत र ‘फुड बैंक’ संचालन गरेको, बर्दिबास रेडक्रस भवन निर्माण र ब्लड बैंक स्थापना जस्ता अनगिनत गरिमामय, अनुकरणीय र सेवामूलक कार्य गरेकोले निष्कृयाताको आरोप कपोलकल्पित, भ्रमात्मक र दुरासयपूणर् रहेको गौतमले प्रतिकृया दिए ।
‘हाम्रो प्यानलले बर्दिबासको ब्यापार र ब्यापारीको सर्वाङ्गिण हीत र विकाशका लागि उम्मेदवारी दिएको हो’ गौतमले भने ।
अध्यक्ष पदका अर्का प्रतिस्पद्धी जागेन्द्र श्रेष्ठको भने अहिलेसम्म चुनावी गतिविधि देखिएको छैन ।




