
मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष ०८०/०८१ को वजेटको तयारीमा थालेको छ ।
असार १ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता रहेकोले त्यसको तयारीमा प्रदेश सरकार जुटेको हो ।
अर्थ मन्त्री संजय कुमार यादवले बजेटको तयारी भइरहेको बताए । उनले अर्थ विज्ञ, बुद्धिजीवि, राजनीतिक दल, व्यवसायी सहितसँग छलफल गरेर जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए ।
मन्त्री यादवको अनुसार कृषि, पर्यटन,स्वास्थ्यसहितलाई रोगजार सिर्जना गने किसिमको बजेट ल्याउने तयारी भइरहेको छ।
यसपालिको रियालिस्टिक बजेट ल्याउने अर्थमन्त्री यादवको दाबी छ । ‘जनताको धेरै ठुला अपेक्षा त यसपालि मुलुकमा रहेको अर्थतन्त्रको सङ्कटपूणर् स्थितिका कारण पुरा गर्न सकिँदैन तर अपेक्षित बजेट आउँछ,’ उनले भने, ‘तर जे आउँछ नमुना आउँछ । यसपालिदेखि प्रदेशमा राम्रा, उल्लेख्य र नमुना कार्यको सुरुवात हुन्छ ।’
सरकारको नीति कार्यक्रम उपर राय सुझाव लिने कार्य भइरहेको अर्थमन्त्री यादवले जनाए । उनका अनुसार धेरै विषयलाई प्राथमिकीकरण गरिएको छैन । प्रदेशको साक्षरता दरलाई मध्यनजर गर्दै तथा अत्यावश्यक स्वास्थ्य सेवा र किसानको समस्या अन्त्य गर्न उनीहरूलाई आत्मनिर्भर बनाएर जीवनस्तर उकास्ने खालको बजेट बनाइँदैछ ।
प्रदेशमा रोजगारी सिर्जनाको प्रयासस्वरुप निजी-सरकारी साझेदारी कन्सेप्टलाई आत्मसाथ गर्दै लगानी सम्मेलनको पनि तयारी गरिरहेको पनि उनले बताए ।
अर्थमन्त्री यादवले सरकार १०० वटा परियोजना तयारी गरेर सोही लगानी सम्मेलनमार्फत कार्यक्रम सम्झौता गरी सुरुवात गरिने जनाए ।
यसपालिको बजेटमा आयातलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनमा जोड दिएर प्रदेशलाई आत्मनिर्भर बनाउने खालको प्रयासमा पनि सरकार लागिरहेको अर्थमन्त्री यादवले बताए ।
प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ्ग तोकेर आगामी आवको योजना तथा कार्यक्रम माग गरिसकेको छ ।
अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टाईले बजेटको मार्ग निर्देशन र बजेटको सिलिङ्गको बारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताए ।
अर्थ सचिव भट्टाईले आगामी आर्थिक वर्षको लागि संघीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ्ग पठाएको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए ।
उनले संघीय सरकारले चालु आवको भन्दा २० प्रतिशत कम अर्थात २० अर्वको मात्र बजेट सिलिङ्ग पठाएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको बजेट ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
चालु आव मा मात्र २२ प्रतिशत मात्र खर्च
पछिल्लो ९ महिनामा प्रदेश सरकारले चैत मसान्तसम्म कुल बजेटको २१ दशमलव ४२ प्रतिशत आर्थात १० अर्ब ५ करोड १३ लाख ९९ हजार १८६ रुपैयाँ मात्र खर्च भएको छ ।
चालुतर्फ ४ अर्ब ३६ करोड ७ लाख २० हजार ८७७ र पुँजीगततर्फ ५ अर्ब ६८ करोड ४३ लाख ७८ हजार ३०७ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको बजेट संघीय सरकारले दिने सामान्यकरण, सशर्त, राजस्व बाँडफाँट सहितमा भरपर्ने हुँदा आगामी वर्षको बजेटको आकारसमेत घटने अर्थ मन्त्रालयले जनाएको छ ।
विश्वव्यापी रुपमा रहेको आर्थिक मन्दीको कारण प्रदेश सरकारले प्रदेशको आन्तरिक आम्दानीसमेत गत वर्षको तुलनामा यस वर्ष घटेकोले पनि त्यसको प्रभाव बजेटमा पर्ने अर्थ मन्त्रालयले जनाएको छ।
बजेटको आकार चालु आर्थिक वर्षमा हुने खर्चमा पनि भरपर्ने भएकोले यस वर्ष बजेट खर्चको अवस्था न्यून रहेको र बजेट खर्च कम भएको खण्डमा बजेटको आकार केही बढ्न सक्ने अर्थ सचिव भट्टाईले बताए।