जनकपुरधाम – धनुषा सहित मधेस प्रदेशमा सोमवारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो । बिहानैदेखि शीतलहरसंगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेस प्रदेशको राजधानी जनकपुरधाम लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छे सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् । चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको जनकपुरधाम उपमहानगरपालिका-१४ की रञ्जना झाले बताइन् ।
‘चिसोले साना बालबच्चा सहित विद्यार्थीलाई समस्या छ’, आफ्नो बच्चालाई विद्यालय पठाउन जाने क्रममा बाटोमा भेटिनु भएकी उनले भनिन्, “न्यानो कपडा नहुने बच्चाहरुलाई धेरै समस्या हुने भो ।” चिसोले बालबच्चालाईमात्रै हैन ज्येष्ठ नागरिक पनि प्रभावित भएका छन् । बुढापाकालाई जाडो कटाउन धेरै समस्या हुने गरेको बताइन्छ । जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको झाको सुझाव छ । जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ ।



एक्कासी जाडो बढेपछि गरिब, विपन्न दलित, सीमान्तकृत समुदायका मानिसहरु समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । जाडोका कारण काम गर्न समस्या भइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा नाली बनाउने काम गरिरहेका मजदुर राम सनेही सदाले बताए । “जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ”, उनले भने । यसैगरी, गहुँ सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकी नसकी काम गर्न बाध्य छन् । क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयाका दिपो यादवले भने, “सिँचाइ नगरिए उत्पादन राम्रो हुँदैन, त्यसैले यस्तो चिसो पनि गहुँमा सिँचाई गर्न दमकल चलाउन खेत आएको छु।”
चिसोले गर्दा काममा जान सकेको छैन दाउरा बेचेर जिविकोपार्जन गर्दै आइरहेका मिथिला नगरपालिका वडा नम्वर ८ का पशुपति लामाले बताए। उनले भने, “दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।” चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए । उनले चिसोमा रोटा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको उल्लेख गरे ।
‘त्यसैले चिसोमा बच्चा, वृद्धवृद्धाको एकदमै ध्यान दिनु पर्दछ’, उनले भने, ‘उनीहरुलाई चिसो लाग्नबाट जोगाउन आवश्यक छ ।’ चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने, ननिस्कने जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने डा. दासले बताए । यता अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको जनकपुरधाम शिव चोक स्थित गुप्ता जनरल स्टोरका प्रोपराइटर रमेशप्रसाद गुप्ताले बताए।
जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपी लगायतका ऊनजन्य कपडाहरु बढी खपत हुने गरेको छ। आरम्भमा जाडो नभए पनि सकिने बेलामा एक्कासी जाडो बढेपछि ग्राहकहरुले आफ्ना सुरक्षाका लागि कपडाहरु खरिद गर्ने क्रम बढेको गुप्ताले बताए।




