रणधीर चौधरी
प्रधानमन्त्री पुष्पकमल दहाल चार दिने भ्रमणमा छिमेकी देश भारत जाँदैहुनु हुन्छ । एउटा सार्वजनिक कार्यक्रममा दहालले उनको भ्रमणको क्रममा केही नयाँ चिज नेपाललाई प्राप्त हुने र नेपाल भारत सम्बन्धको आयाम पनि नयाँ ठाउँमा पुग्छ भन्ने विश्वास आम नेपाली जनतामा पस्किनु भयो । त्यसैगरि यसपटकको भारत यात्रामा एउटा ‘नयाँ इतिहास’ रच्ने विश्वास छ उहाँमा ।
नेपालमा नयाँ प्रधानमन्त्री बन्दा अन्य देशको भ्रमण गर्यो गरेन भन्ने खबरले चर्चा पाएको खासै देखिदैन, पछिल्ला दशकहरुमा । हाम्रो राजनीतिक प्रणालीले सदन र सरकार दुबैलाई पाँच वर्षको कार्यकाल तोकेको छ । तर देशले विश्वको उत्कृस्ट भनी हल्ला गरिएको संबिधानले समेत एउटा स्थीर सरकार दिन सकेको छैन् । पाँच वर्षमा कम्तीमा दुई-तीन थान प्रधानमन्त्री उत्पादन हुनेगरेको छ । यस अर्थमा नेपालका प्रधानमन्त्रीस्तरीय यात्राप्रति सामान्यजनको चासो वा उत्साह कहिल्यै देखिँदैन । यद्धपी नेपाली राज्यसत्ता र अन्तराष्ट्रिय राजनीतिमा चासो राख्नेहरुका माझ लागि यो विषय खपतयोग्य हुनसक्छ । नेपाली प्रधानमन्त्रीले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट प्रारम्भ हुने चलन जस्तै भएको छ । पुष्प कमल दहाल प्रधानमन्त्री बन्दा उहाँले गर्ने औपचारिक भ्रमणको आफ्नै कथाकहानी रहँदै आएको छ ।



दहाल पहिलो पटक प्रधानमन्त्री बनेको केही मिनेट मै तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई सन्देश पठाएका थिए । साथै भारत आउने निम्तो पनि । त्यसैवेला चीनको बेइजिङमा चालू ओलम्पिकको समापन समारोहको मुहूर्त हेरेर दहाल चीन आउन निम्ता पठाइएको थियो, २०६५ सालमा । दहाल भारत र चीनमध्ये चीन गए, ओलम्पिक समापन समारोहमा । त्यहाँ चीनका तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग दहालको गम्भीर छलफल भएको थियो । चारदिने चीन भ्रमण सकेर नेपाल फर्कदा दहालले विमानस्थलबाट आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने भनी घोषणा नै गरे ।
भारत र चीन नेपालका छिमेकी राष्ट्रहरु हुन् । यी दुई देशसँग नेपालको कुटनीतिक सम्बन्धको पनि आफ्नै इतिहास रहेको छ । विश्वमा नमूनाको रुपमा नेपाल-भारतबीच विद्यमान एतिहासिक खुला सिमाना, दुई देशले मान्दै आएको सनातनी सभ्यताको साइनो देखि अनादिकाल देखि चल्दै आएको रोटी-बेटीको सम्बन्ध रहँदै आएको तथ्य जतिकै विदित छ भारतले नेपालको लोकतान्त्रीक आन्दोलनहरुमा निर्वाह गरेको मध्यस्तकर्ताको भूमिका । नेपाल भारतबीच रहँदै आएका यस्ता आयामहरुका कारण नै होला, चीन लगायत अन्य मुलुकले पनि नेपालको प्रधानमन्त्रीको पहिलो राजनीतिक भ्रमण भारतबाट हुनुलाई स्वभाविक ठान्दो हो । तर दहाल प्रधानमन्त्री बन्दा चीनले नेपालमा भारत बिरोधी मानसिकता बोक्दै आएका काठमाण्डौ केन्द्रित सिमित बौद्धिकहरु, भारत बिरोधी चीन कार्ड खेल्न खप्पीस खेलाडीहरुले प्रधानमन्त्रीको भारत यात्रासँग सम्बन्धीत भाष्यमा चिनीया एंगल दिन खोजी रहेको हुन्छ । यी तिनै समुह हुन जसले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला भारतसँग द्वविपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिपा) गर्दा त्यसलाई राष्ट्रबिरोधी सम्झौता ठहर गर्न सडक देखि न्यालयसम्म एक्टीभिज्म प्रस्तुत गरेको थियो । यो त्यही समुह हो जसले अमेरिकी सहयोगमा आएको मिलिनियम च्यालेन्ज करपोरेशन (एमसीसी) परियोजना सर्बथा देशबिरोधी हेर्छ तर चीनको सामरिक स्वार्थ पुरा गर्न बिआरआइ सम्झौतामा हस्ताक्षर गरी फर्किदा कहिल्यै सोध्दैनन् – यो सहयोग हो की ऋण ? केही दिन पश्चात हुनलागेको दहालको पहिलो विदेश यात्रा भारतबाट नै किन हुनलागेको सन्दर्भमा गत साता राष्ट्रिय सभामा प्रधानमन्त्री दहाललाई सभाका सदस्यहरुले जवाफमा भन्नुभयो की, सत्ता सम्हालेपछि पहिलो भ्रमणको निम्तो चीनबाट आएको थियो । चीनबाट निम्तो आउनु स्वभाविक र सोँचित दुबै हो । बोलीले भूराजनीतिक सन्तुलन खोज्ने दहालको पुरानो व्यवहार जगजाहेर छ । तर यसपटक भने सन्तुलन मिलाउनको लागि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा चीन पुगिसकेका छन् । जम्बोटोली सहित चीन पुगेका सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटघाट गरिसकेका छन् । चलिरहेको सदनमा प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री दहाललाई भारतसँगको सिमा विवाद, इपीजी प्रतिवेदन जस्ता मु्द्दाबारे भारत जाँदा आवाज उठाउने वा नउठाउने भनी प्रश्न गरिरहेका छन् । प्रधानमन्त्रीले आवश्य उठाउँछु भन्नुभएछ । उठाउलान पनि । त्यसको कुटनीतिक महत्व पनि दर्ता होला । तर व्यवहारिक धरातलबाट नियाल्दा यी मुद्दाहरुलाई निकाश दिनको लागि देशको आन्तरिक राजनीति स्वक्ष र इमान्दार हुनुआवश्यक छ । नेपालले कालापानी, लिम्पीयाधुरा… भूभागलाई नेपालको राजनीतिक नक्शामा समेट्यो त्यो फगत ओली वा एमाले ले गर्यो भनी छाती थपथपाउने आधार छैन् । सम्पूर्ण राजनीतिक दलको सामूहिक प्रयाशको उपज थियो । होइन भन्ने केही प्रश्नहरु अहिले पनि अनुत्तरीत नै रहेको बुझिन्छ । नक्शा पास गर्ने दिन चलेको संसदमा राजेन्द्र महतोले रोस्टमबाट कुन देश बेचुवाले देश बेच्यो? यसको जवाफ कसले दिने हो ? नक्शा सार्वजनिक गरेपश्चात पाठ्यपुस्तकमा समेटिने भनिएको प्रकाशन किन रोकियो ?
नेपालको दैत्य सम्बन्ध १७८ देशसँग रहेको छ । यी मध्ये हाम्रा प्रधानमन्त्री जाने भनेको भारत, चीन र साइत जुड्यो भन्ने संयुक्त राष्ट्रसँघको महासभामा । अन्यमुलुकमा कुनै राजकिय भ्रमण चर्चा पनि बिरलै हुने गर्छ । अन्य मुलुक जस्तै नेपाल पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो ।
हाम्रा नेतादेखि काठमाण्डौकेन्द्रित बुद्धजीवी समेतले हामी सार्वभौम राष्ट्र हौ भनी मन्त्र जाप गरेर कुटनीतिक र भूराजनीतिक आयामहरु चुस्त पार्न सकिँदैन भनी आत्मसात गर्न चाहिरहेको हुँदैन । सत्तामा भत्ता खाएर होस वा सत्ताको बाहिरी परिधीमा बसेर नेपालको सर्बोत्म हित सोँच्ने हो भने भारतसँगको हाम्रो बिशिस्ट सम्बन्धलाई चीन र अमेरिका को चस्मा लगाएर हुँदैन । पाँच वर्षमा दुई-तीन वटा प्रधानमन्त्री उत्पादन गर्ने हाम्रो राजनीतिले छिमेकीसँगको सम्बन्धलाई बिवादरहित बनाउन संक्लपीत भई राजनीतिक निकास खोज्नु आवश्यक छ । एयर रुट लिने, पंचेश्वर परियोजना, सिमा बिवाद, पेट्रोलियम पाइपलाईन, अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, नेपालका लागि बंगलादेशसम्मको छुट्टै प्रसारण लाइनका महत्वपूणर् अजेण्डाहरु लाई १९५० को सन्धी पुनरावलोकनसँग सम्बन्धीत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनले दहालको भ्रमणलाई ओझेलमा पार्ने निश्चित छ ।
विश्व राजनीतिको बदलिँदो परिवेश माझ नेपालको भूराजनीतिक अवस्थितीको लुत्फ उठाउने शक्तिहरुको प्रभाव नेपाली राजनीति र सत्ताका बिभिन्न अंगमा प्रवेश गरेको छ र त्यसले नेपाल-भारतको विशेष सम्बन्धमा ‘चिसोपना’ राखीराख्न परोक्ष भूमिका खेली रहेको हुन्छ । दहालले त्यस्ता तत्वहरुले गर्ने आलोचनालाई वास्ता नगरी नेपाल हितलाई केन्द्रमा राखी भ्रमण गरोस भनी हरेक स्वाभिमानी नेपालीको चाहना छ । घरेलु राजनीतिमा स्थीरता दिर्घायु बनाउन ललायीत दहालले भारत भ्रमणमा कस्तो इतिहास रच्ने हो त्यो निकट भविष्यको गर्भगृहमा रहने भयो ।




