जनकपुरधाम – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको प्रतिष्ठालाई सुन र भुटानी शरणार्थी काण्डले घटाएको भन्दै यी दुई काण्डका दोषी कोही पनि उम्कन नहुने बताएका छन् ।
नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई काण्डबाट नेपालले अन्तर्राष्ट्रिय जगतमा आर्जन गरेको प्रतिष्ठालाई धुमिल बनाउने काम भएकाले यसको छानविन निष्पक्ष रुपमा हुनुपर्नेमा जोड दिए।



सुनकाण्डमा भारतिय र चिनिया कनेक्शन समेत स्पष्ट रहेकाले कुनै पनि छानविन आयोगले त्यो कनेक्शनलाई निष्तेज गर्न सकेमात्र सहि उपलब्धी हासिल हुने बताए ।
कोइरालाले किलो सुनको कुरा नेपालका लागि मात्र ठुलो बुझिने भएपनि भारतमा टनका टन सुनको खपत रहेको र त्यसको परिपुर्तीका लागि नेपालको भुभाग प्रयोग भइरहेको कुरा भुल्न नहुने बताए । कोइरालाले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको र त्यसमा चिन भारत सहित अनेक शक्तिशाली राष्ट्रहरुको संलग्नता हुन सक्ने भएकाले त्यसको छानविन गर्ने हैसियत हुन्छ कि नाई भन्ने मुख्य विषय हुने बताए ।

उनले ललिता निवास, ओमनी काण्ड तथा गौर हत्या काण्डका घटनाको पनि निष्पक्ष रुपमा छानविन हुनुपर्ने र उक्त काण्डहरूको छानविन अन्तिम निष्कर्षमा नपुर्याए मुलुक अझै भ्रष्टाचारको दलदलमा फस्दै जाने खतरा रहेको बताए।
कोइरालाले कांग्रेसको सहयोग रहेसम्म वर्तमान सरकारलाई कुनै संकट नहुने समेत बताए । विभिन्न काण्डहरुका कारण वर्तमान सरकारको आयु लामो छैन भन्छन नि ? प्रश्नमा उनले कांग्रेसको सहयोग रहे सम्म सरकार यथावत चल्ने बताए ।
नेता डा. कोइरालाले वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी भएको तीन महिना मात्र भएको बताउँदै अहिले नै काँग्रेसका मन्त्रीहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताए।
पत्रकार सम्मेलनमा नेता नैनसिंह महर, योगेन्द्र पजियार, चन्द्रमोहन यादव , रामकृष्ण यादव, मधेश प्रदेशका पूर्वमन्त्री रामसरोज यादव, डा. चन्द्रमोहन यादव सहितका नेताहरू उपस्थिती रहेको थियो ।




