जनकपुरधाम- सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार तिलकोत्सव विधि गरिएको हो ।
राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णव पुग्नु भएको थियो ।
प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थ अंकमाल गर्दै समधी मिलन गर्छन् ।
यस वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले समधी मिलन गर्नु भएको थियो ।

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा आइ तिलकोत्सव कार्यक्रममा सहभागि भएका थिए ।
महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताको अध्यक्षतामा तिलकोत्सव कार्यक्रममा धनुषा निर्वाचन ३ का निर्वाचित सासद जुली कुमारी महतो, धनुषा ३ को ख बाट निर्वाचित दिपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह लगायतको तिलकोत्सवमा सहभागिता रहेको थियो ।
विवाहपञ्चमीको पाँचौ दिन शनिवार माता सीताको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने आइतबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ ।
सोमबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।







