जनकपुरधाम । दीपावलीको पूर्वसन्ध्यामा मनाइने धनतेरस पर्वका अवसरमा जनकपुरधामको सुनचाँदी बजारमा ग्राहकको चहलपहल बढेको छ। सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा खरिद गर्ने ग्राहकको भीड लागेपछि बजारमा चाडपर्वको रौनक छाएको हो ।

धनतेरसका दिन सुन, चाँदी, तामा र पित्तललगायत धातुबाट बनेका सामग्री खरिद गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक विश्वास छ । यही मान्यताअनुसार सर्वसाधारणले यस दिन नयाँ सामग्री खरिद गर्ने परम्परा रहिआएको छ ।




दीपावलीलाई लक्षित गरी गरिने किनमेलका कारण जनकपुरधामका सुनचाँदी पसलमा ग्राहकको उपस्थिति बढेको व्यवसायीहरूले बताएका छन् । धनतेरसलाई नयाँ सामग्री खरिदका लागि विशेष दिन मानिने भएकाले अन्य दिनको तुलनामा यस दिन सुनचाँदी तथा धातुका सामग्रीको कारोबार बढ्ने गरेको छ ।

धार्मिक मान्यताअनुसार धनतेरसका दिन बहुमूल्य धातु तथा नयाँ भाँडाकुँडा खरिद गर्नु शुभ मानिन्छ । यसले परिवारमा धनधान्य, सुख र समृद्धि भित्रिने विश्वासका साथ मानिसहरू आफ्नो क्षमताअनुसारका सामग्री खरिद गर्न बजार पुग्ने गरेका छन् ।
यस वर्ष शुक्रबार बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भई शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहने जनाइएको छ । त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।
दीपावली नजिकिँदै जाँदा जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न बजारमा किनमेलको चहलपहल थप बढ्ने अपेक्षा गरिएको छ ।




