महोत्तरी – प्रहरीले लागु औषध ब्राउन सुगर सहित शुक्रवारसाँझ दुईजनालाई पक्राउ गरेको छ। बर्दिबासबाट सिन्धुली तर्फ लागु औषध (ब्राउन सुगर) लैजादै गरेको विशेष सूचनाको आधारमा लागुऔषध अनुसन्धान ब्युरो शाखा कार्यालय बर्दिवास र ईलाका प्रहरी कार्यालय भिमानको संयुक्त प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ९ बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई न.पा.–४ चियावारी बस्ने पदम बहादुर खत्रीको छोरा बर्ष ३० को ‘सन्तोष’ भन्ने यम बहादुर खत्री र सोही ठेगाना भएका बिराट मगर रहेको ईलाका प्रहरी कार्यालय भिमानले जनाएको छ । बर्दिबासबाट सिन्धुली तर्फ जाँदै गरेको बा.२ ख ७०७० नम्बरको यात्रु बोकेको बस प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार खत्रीले लगाएको पाईन्टको खल्तीमा रजनीगन्धाको प्याकेट भित्र कालो प्लास्टिकमा पोका पारी लुकाई राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको हो ।



सो पदार्थलाई तत्काल नजिकको सुन पसलमा लगेर तौल गर्दा प्लास्टिक बाहेक जम्मा ५.६ सय ९० ग्राम रहोको बताईएको छ । प्रहरीले लागु औषध ब्राउन सुगर बर्दिबास सम्म ल्याउन प्रयोग गरेको प्रदेश–२–०२–००४ प ३७२९ नम्बरको मोटरसाईकल र त्यसका धनी बिराट मगरलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा बुझाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताएको छ ।




