महोत्तरी – स्थायी नियुक्ति पत्र पाएपछि सहजै हाजिरी हुनुपर्ने हो, तर महोत्तरीमा स्थायी नियुक्ति पत्र पाएर आएका एक शिक्षकलाई हाजिरीको लागि ठुलै संघर्ष नै गर्नुपरेको छ । निम्न माध्यमिक तृतिय सामाजिक विषयको स्थायी शिक्षक नियुक्तिपत्र पाएर महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको शुकदेव माध्यमिक विद्यालयमा हाजिरी गर्न पुग्नुभएका सिन्धुलीको दुधौली घर भएका संजीव न्यौपानेलाई हाजिरीको लागि ठुलै संघर्ष गर्नुपरेको छ ।
उहाँले हाजिर हुन पनि स्रोस र दवाव सृजना गर्नुपरेको गुनासो गर्नुभयो । शिक्षकको नियुक्ति पत्र बोकेर हाजिरको लागि धाउँदै आउनुभएका शिक्षक न्यौपानेलाई दश दिन पछि मात्रै विद्यालयले हाजिर गराएको छ। शिक्षक न्यौपानेले नियुक्तिपत्र पाएपछि सहजै हाजिरी हुने सोच्नुभएको थियो तर हाजिरीको लागि उहाँलाई ठुलै स्रोस र दवाव सृजना गर्नुपरेको वताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीले माघ १० गते शिक्षा नियमावली २०५९ (संंशोधनसहित) को नियम ९६(१) बमोजिमको परिक्षणकाल रहने गरि जलेश्वर नगरपालिकामा नियुक्ति दिएको थियो ।



जलेश्वर नगरपालिकाले माघ १८ गते शिक्षक न्यौपानेलाई जलेश्वर नगरपालिका वडानं.४ सुगामा रहेको शुकदेव माध्यमिक विद्यालयमा पदस्थापनको लागि पठाएको थियो । पदस्थापनाको पत्र बोकेर सोही दिनदेखि विद्यालय धाउँदै आउनुभएका शिक्षक न्यौपानेलाई शुकदेव माविका प्रधानाध्यापक कृष्णचन्द्र चौधरी विभिन्न बहाना बनाई आलटाल गरेर हाजिर गर्न दिएनन् । एक वर्ष अगाडी मात्रै सामाजिक विषयमा करार शिक्षक नियुक्त गरेकोले सो लाई हटाउन आनाकानी गर्दै प्रअ चौधरीले हाजिर गराउन आलटाल गरेको सम्झिनुहुदै शिक्षक न्यौपानेले भन्नुभयो, ‘पदस्थापनाको पत्र अनुसार हाजिर गराउन आफुले ठुलै स्रोस र दवाव सृजना गर्नुपरेको छ ।

’ हाजिर गराउन पनि दवाव सृजना गर्नुपर्ने कस्तो विडम्बना हो ? प्रश्न गर्नुहुदै शिक्षक न्यौपानेले भन्नुभयो, ‘मसंगै नियुक्ति पाएकाहरु हाजिर भइसके तर मलाई हाजिरीको लागि सधै सय किमीबाट आउनु परिरहेको छ ।’ प्रधानाध्याक चौधरीले तपाईलाई माघ १८ गतेकै मितिमा यही विद्यालयमा पदस्थापना गराउँछौं, केही समय पर्खिनुस भनेर आश्वासन मात्रै दिएको र दवाव सृजना गरेपछि माघ २८ गतेको मितिबाट हाजिर गराएको शिक्षक न्यौपानेले दुखेसो पोख्नुभयो ।
शुकदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीसँग यस विषयमा सोध्दा उहाँले करारमा भर्ना भएकी शिक्षिकाले आफुलाई केही दिन पर्खिन भनेकोले सोही अनुसार आग्रह गरेको बताउनुहुदै हाजिरी गर्न नदिने मनशाय नभएको बताउनुभयो । स्थानीयबासीहरुले प्रधानाध्यापक चौधरी करारमा शिक्षक नियुक्ति गर्दा मोटो रकम लिने गरेको बताउँदै स्थायी शिक्षकलाई अर्को विद्यालयमा पदस्थापना गरि करारमा रहेका शिक्षकसँग थप रकम असुल्ने मनशायले मात्रै हाजिर गर्न नदिएको आरोप लगाएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका प्रमुख देविका अमात्यले शिक्षकलाई हाजिर नगराएको बारे आफुहरुलाई समेत जानकारी आएपछि समन्वय गरेर हाजिर गराएको बताउनुभयो । आयोगबाट नियुक्ति पाएका शिक्षकहरुलाई कुनै पनि हालतमा हाजिरी गराउनुपर्नेमा हाजिरी नै नगराउने काम गलत भएको शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका प्रमुख अमात्यले बताउनुभयो ।





