महोत्तरी - नेपाल भारत मैत्री संघ मधेश प्रदेशले नेपाल भारत मैत्रीलाई अझ प्रगाढ़ बनाउन र मधेशमा संघले गर्ने कार्ययोजनाका बारेमा बृहत छलफल गरेको छ । नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष लवराजा सिंहको अध्यक्षता बुधवार संघको महोत्तरी शाखाको कार्यालय जलेश्वरमा मधेश प्रदेश द्वारा आयोजना गरिएको भेट्घाट तथा छलफल कार्यक्रम संघका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
नेपाल भारत मैत्री संघका केन्द्र,प्रदेश तथा स्थानिय पदाधिकारीहरुले कार्यक्रममा नेपाल भारतबीचको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा गहन छलफल गरेका थिए । संघले विगतदेखि नै दुई देशबीचको सद्भाव कायम राख्न विभिन्न गतिविधिहरू गर्दै आएको जनाएको छ । यो कार्यक्रम पनि त्यही निरन्तरताको सन्दर्भमा एउटा सानो तर महत्वपूर्ण पहलका रूपमा आयोजना गरिएको जनाएको छ। संघका केन्द्रिय अध्यक्ष ई शैलेन्द्र मोहन झाले नेपाल र भारतबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास निरन्तर चलिरहने उल्लेख गर्दै संघको संरचनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र स्थानीयस्तरमा प्रभावकारी उपस्थिति आवश्यक रहेको बताउनुभयो। उनले नेपाल भारत मैत्री संघले देशका विभिन्न जिल्लामा गर्दै आएको समाजिक तथा सहयोगका कार्यहरु बारे बताउदै संघलाई सबल बनाउन साना प्रयासहरुले सहयोग र मित्रतालाई सकारात्मक रुपमा जनस्तरमा प्रवाह गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत, भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका प्रमुख देवी सहाय मीणा ले नेपाल भारत मैत्री संघको प्रयास प्रशंसनीय रहेको बताए । उनले दुई देशबीचको सांस्कृतिक, सामाजिक, शैक्षिक र आर्थिक सम्बन्धलाई सुदृढ गर्न दूतावास सधैं सहयोग गर्न तयार रहेको र विगतमा भएको सहयोग बारे जिकिर गरे । उहाँले संघमार्फत जनस्तरमा सञ्चालित कार्यक्रम, विद्यार्थी तथा युवाहरूका पहल, र आपसी सद्भाव बढाउने क्रियाकलापमा भारतीय दूतावासको सहयोग, समन्वय र सहकार्यता उपलब्ध रहने प्रतिबद्धता व्यक्त गरेसँगै कुटनीतिक संवाद स्थापित गर्न सहजिकरण गर्दै हरेक क्षेत्रमा सहयोगका लागि अग्रणी भुमिका निर्वाह गर्ने बताए । नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष लवराजा सिंहले संघले नेपालको विभिन्न क्षेत्रमा सामाजिक समृद्धि र आर्थिक उन्नतिमा सहयोग पुर्याउन निर्वाह गरेको भुमिकाहरुको प्रशंसा गर्दै । उनले मधेशका सिमावर्ती क्षेत्रका जनस्तरमा शिक्षा,स्वास्थ्य,व्यापार सहजिकरण,सामाजिक न्याय,सांस्कृतिक पर्व र संस्कृति आदानप्रदान, आपसी सद्भाब लगायतका विषयहरुमा नेपाल भारत मैत्री मधेश प्रदेश संघ केन्द्रको समन्वयमा प्रमुख भुमिकामा रहि काम गर्ने बताए ।
नेपाल भारत मैत्री संघ मधेश प्रदेशको आयोजनामा जलेश्वरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा संघका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । भेट्घाट तथा छलफल कार्यक्रम महावाणिज्यदूत, भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका प्रमुख देवी सहाय मीणाको प्रमुख आतिथ्यता, संघका केन्द्रिय अध्यक्ष ई. शैलेन्द्र मोहन झा र अध्यक्षता मधेश प्रदेशका अध्यक्ष लव राजा सिंहले गरेका थिए। कार्यक्रममा नेपाल–भारत सम्बन्ध सुदृढ पार्न र संघलाई प्रभावकारी बनाउन आवश्यक संरचना, नीति र कार्यक्रममाथि गहन छलफल गरिएको थियो ।




