महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–५ बिसनपुरस्थित ऐतिहासिक राम जानकी मन्दिर प्राङ्गणमा निर्माण सम्पन्न भएको दुई कोठे भान्सा घर भवनको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।
उक्त भान्सा घरको समुद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रमुख मण्डलले राम जानकी मन्दिरमा आयोजना हुने भण्डारा, विवाहलगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा खाना पकाउने कार्यलाई व्यवस्थित र सहज बनाउन भान्सा घर निर्माण गरिएको जानकारी दिनुभयो।



नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत १२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जानकारी मटिहानी नगरपालिका प्राविधिक दिनेश साहले दिनुभयो।
समुद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष मिश्री नायक, नेपाली कांग्रेसका नेता कैलाश नायक, नेकपा एमालेका नेता किशोरी महतो, लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सदस्य कुशेश्वर यादव, वडा नं. ४ का पूर्व अध्यक्ष मैनुद्दीन राईन, वडा सचिव दिनेश यादव, साथै स्थानीय समाजसेवीहरू पंचेश्वर यादव, सतो यादव, चन्देश्वर मण्डल, तेज नारायण यादव, राम कुमार यादव, बिनय कुमार मण्डल, केशव महतोलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
समारोहमा सहभागी वक्ताहरूले मन्दिरको संरक्षण र प्रवर्द्धनमा सामूहिक योगदान आवश्यक रहेकोमा जोड दिएका थिए।




