धनुषा । मधेस प्रदेश सरकारले सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिनुभयाे। जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने चौधरीको भनाइ छ ।
एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उहाँको भनाइ रहेको छ ।
सुचना जारी भएसंगै अहिले कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको व्यापक भीड लागेको छ।
केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले शुक्रबारसम्म ११ सयभन्दा बढी आवेदन प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार निवदेन बुझाउने समय आइतबारसम्म रहेकाले यो संख्या अझै बढ्छ ।
प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवेदन प्राप्त भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवदेन त्यसको दोब्बर प्राप्त भएको छ ।’
उहाँले प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाउने बताउँदै यस वर्ष प्रर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको बताउनुभयो ।
शुक्रवार आवेदन दिन आउनु भएको क्षीरेश्वरनाथ नगरपालिका ९ दिगम्बरपुरका किसान रामबाबु महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष समयमा पानी परेन । खेत सबै सुक्खा छ ।
कृषि ज्ञान केन्द्र धनुषाले साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्नका लागि किसान १० रुपियाँको हुलाक टिकट टाँस भएको आवेदन फारम, नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि र जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायतका कागजातहरू माग गरेको छ ।
एउटा स्यालो ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।







