सुनसरी । नेपाली साहित्यको प्रवर्द्धनका लागि पूर्वमा सुरु गरिएको ‘क्याफेमा कविता’ को चौथो शृङ्खला सम्पन्न भएको छ । नेपालबिट प्रा.लिको आयोजनामा इटहरीमा रहेको माइतीघर क्याफेमा हरेका शनिवार बिहान सञ्चालन हुने ‘क्याफेमा कविता’ को उक्त शृङ्खला सम्पन्न भएको हो ।
चौथो शृङ्खलामा कवि तिला लेकाली, आलोक खनाल र इन्दुनेपाल योञ्जन प्रस्तुत भएका थिए । कार्यक्रममा तिला लेकालीले एउटा गजल, ‘पुरानो छाता’, ‘जमरा’, ‘फरक’, ‘स्याबास भूकम्प’, आलोक खनालले ‘भ्रम’, ‘समर्पण बालाई’, ‘बेल्चा’, ‘प्रणय दुःख’, ‘नाइट ड्युटी’ र इन्दु नेपाल योञ्जनले ‘सिमानामा आसेङ’, ‘साक्षी, ‘अनुहार’, ‘स्वाभिमान’, ‘घरमुनिको खेत’ शीर्षका ५÷५ ओटा रचनावाचन गरेका थिए ।

वरिष्ठ साहित्यका कुन्ता शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा राजेश विद्रोही, केशु विरही, पराजित पमु, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, दीपा दीपहरि, सुदीप पाख्रिन, शालिग्राम ढकाल, कविता लम्साल, उमेश खरेल, रिशिरञ्जन चौधरी, नवीन लामिछाने,सुमन सुवेदी, शान्तिराम गौतम, मनोज अधिकारी, आदर्श लम्साल, सुमिरा खरेल, समिप खरेललगायतका स्रष्टा तथा अन्य विभिन्न क्षेत्रका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नेपालबिटले पहिला शृङ्खलामा मीना श्रेष्ठ, दोस्रोमा दीपा दीपहरि र केशव रिमाल र तेस्रो शृङ्खलामा हिमालय पौडेललाई प्रस्तुत गरिसकेको छ ।
१० शृङ्खला सम्पन्न गरेर एउटा विशेष शृङ्खलाको आयोजना गर्ने योजना रहेको सञ्चालक खरेल बताउँछन् ।
सुनसरीका अग्रज स्रष्टा कृष्णविनोद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने नेपालबिट मिडिया प्रा. लि.का अध्यक्ष रामप्रसाद खरेलको सञ्चालन रहेको थियो ।







