महोत्तरी – मिथिलाञ्चल क्षेत्रमा शुक्रबार चौरचन पर्व अत्यन्तै श्रद्धा र विधिपूर्वक सम्पन्न भएको छ। भदौ शुक्ल चतुर्थीका दिन मधेशी र थारु समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने परम्परा रहेको छ। यस वर्ष तिथि फरक परे पनि हरितालिका तीज र चौरचन पर्व एकैदिन परेको छ।

साँझ चन्द्रमाको पूजा गरिने यस पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री अर्पण गरिन्छ। पूजा सकिएपछि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै घरका पुरुष सदस्यहरूले प्रसाद ग्रहण गर्ने परम्परा छ। कृष्ण जन्माष्टमीको १२ दिनपछि मनाइने चौरचनलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मानिन्छ। यसलाई चौरचन, चौठीचान वा चौठीचन्द्र पनि भनिन्छ।पर्वको क्रममा चामलको पिठोबाट कलात्मक अरिपन बनाई सोको बीचमा पूजाका सामग्री राखी चन्द्रमाको आराधना गरिन्छ। दाल–चामलको पिठोबाट बनेको पुरी, पिरुकिया, खीर, खाजा, माटोको छाँचीमा जमाइएको दही, केराको घारीसहित फलफूल र वस्त्र–आभूषण चढाउने परम्परा छ। पर्वमा प्रयोग हुने अधिकांश सामग्री आफ्नै घर आँगनबाट तयार पारिन्छ।




धार्मिक विश्वास अनुसार यस दिन चन्द्रमालाई नांगो आँखाले हेर्दा कलंक लाग्ने भएकाले पूजा र अर्घ दिएपछि मात्र दर्शन गर्ने चलन छ।चौरचन पर्व भगवान श्रीकृष्णसँग जोडिएको मानिन्छ। श्रीमद्भागवत महापुराणअनुसार स्यमन्तक मणि हराएको आरोप लागेपछि कृष्णले भदौ शुक्ल चतुर्थीका दिन उक्त मणि फिर्ता ल्याई आफू माथि लागेको कलंकबाट मुक्त भएका थिए। सोही स्मरणमा चौरचन पर्व मनाइँदै आएको धार्मिक विश्वास रहँदै आएको छ।
फोटो फिचर : धर्वेन्द्र कुमार यादव”यदुवन्शी”शिरीष न्युज,औरही/महोत्तरी।

































